जनकपुरधाम, बैशाख ७ :
लामो समयको छलफलपछि पनि चुनावी गठबन्धन र पालिका बाँडफाँडमा सहमति जुट्न नसकेपछि मित्रवत प्रतिस्पर्धा वा तालमेल हुन सक्ने भए तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने निर्णय सत्तारुढ गठबन्धनको बैठकले गरेको छ ।
३० वैशाखमा हुने निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले विभिन्न चाँर बुँदे निर्णयहरु गरेका छन् ।
नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको संयोजकत्वमा गठबन्धन दलका प्रदेश स्तरीय प्रतिनिधिहरुको बैठक बसि निर्णयहरु सर्वसम्मत पारित गरिएको हो ।
सत्ता गठबन्धन दलहरुबिच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन बाहिरका दलसँग प्रतिस्पर्धा रहेको ठाउँमा सत्तारुढ दल अधिकतम ललिचो भई चुनावी तालमेल गर्ने निर्णय गरिएको नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीप कुमार यादवले जानकारी दिए ।उनले गठबन्धन दलहरु भित्रका सबै दल एकजुट हुन नसकेमा गठबन्धनभित्रकै दलहरुबिच आपसी तालमेल गरि चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको जानकारी दिए ।
त्यस्तै, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयसमेत गरिएको उनले बताए ।
सत्ता गठबन्धन दल बाहिरको दलसँग कुनै चुनावी तालमेल वा गठबन्धन नगर्ने सहमति भएको बताइएको छ ।
मधेश प्रदेशका सम्पूर्ण स्थानीय तहलाई भएका निर्णयहरु कार्यान्वयन गर्न गराउन सत्तारुढ गठबन्धनले अनुरोध गरेको छ ।