जनकपुरधाम, बैशाख ५: स्थानीय तहको निर्वाचनमा बालबालिका तथा विद्यालयलाई दलगत रूपमा प्रयोग नगर्न सरोकारबालाहरूले राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । जनकपुरधाममा सोमबार बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र आसमान नेपालले गरेको अन्तर्क्रियामा सरोकारबालाहरूले राजनीतिक दल र नेताहरूलाई यस्तो आग्रह गरेका हुन् । स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल’ सम्बन्धी अन्तर्क्रियामा उनीहरूले आचारसंहिताको पूर्ण रूपमा पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बालबालिका र विद्यालयलाई दलगत रूपमा प्रयोग हुनबाट बचाउन सबैको सहयोग आवश्यक रहेको पनि उनीहरूले बताएका छन् । त्यस्तै, स्थानीय तहलाई बालमैत्री बनाउन, बालबालिका सुरक्षित बनाउन र स्थानीय तहबाई बालमैत्री बनाउन राजनीतिक दलका नेताहरूलाई उनीहरूले आग्रह गरेका छन् । अन्तक्रियामा विभिन्न दलका प्रतिनिधिका साथै बालबालिका अधिकारसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।