जनकपुरधाम, बैशाख ४: मधेश प्रदेशमा आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठक सोमबार पुनः बस्नेगरी स्थगित भएको छ । आइतबार जनकपुरधामस्थित जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यालयमा बसेको बैठकमा ८ वटै जिल्लाको हरेक पालिकाको पार्टीगत अवस्थाबारे रिपोर्टिङ र विपक्षी दलको अवस्थाबारे समीक्षा भएको जसपा मधेश प्रदेश कार्यालयका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए ।
उनले गठबन्धन दलभित्र अहिलेसम्म कुनै पनि किसिमले भागवण्डाको कुराकानी नभएको बताए । उनले भने, ‘अहिले गठबन्धनको विषयमा धेरै अफवाह फैलिएको छ, कुनैपनि दलले मधेश प्रदेशमा भागवण्डा खोजेका छैनन् ।’ उनले अघि थप्दै भने, ‘जहाँ जहाँ गठबन्धनभित्र कुराकानी मिल्दैन ती स्थानमा मैत्रीपूर्ण प्रतिष्पर्धा हुन्छ । विपक्षी दल निकै कमजोर भएको ठाउँमा गठबन्धन भित्रै पनि प्रतिस्पर्धा हुनसक्छ ।’उनले पर्सा जिल्ला मधेश आन्दोलनको उर्वर भूमि रहेकाले एमालेको नाम जनताले सुन्नै नचाहेको अवस्था रहेको जिकिर गरे । उनले पर्सामा पाँच दलीय गठबन्धन नै निर्वाचित हुने ठोकुवा गरे । बैठकमा नेपाली काँग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष रामबाबुकुमार यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेश समितिका इन्चार्ज धर्मनाथ साह लगायतका नेताहरूको सहभागिता थियो । सभार-राताेपाटी





