जनकपुरधाम, वैशाख ४ ।
आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरे पनि धनुषामा सम्भावना टर्दै गएको छ । खास गरेर जनकपुरधाम उपमहानगरपालिकामा सबै दल आ–आफ्नो दावी गरिरहेको छ । गठबन्धन सम्बद्ध दलहरूले आफू अनुकूल दाबी गरेपछि जनकपुरधाम उपमहानगरपालिका सहित जिल्लामै गठबन्धनको सम्भावना टर्दै गएको हो ।
गठबन्धनसम्बद्ध दलले अघिल्लो स्थानीय तह निर्वाचनमा जितेकोभन्दा बढी सिटमा दाबी गरेपछि तालमेलको सम्भावना टर्दै गएको धनुषा कांग्रेसका एक पदाधिकारीले बताए । गत स्थानीय तह निर्वाचनमा धनुषाको १८ मध्ये ८ पालिका कांग्रेसले जितेको थियो । त्यसैगरी तत्कालीन संघीय समाजवादी फोरम(हाल जसपा) ले दुई पालिकामा जित हात पारेको थियो । नेकपा एमालेले ४, माओवादी केन्द्रले २ र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) ले २ पालिका जितेको थियो ।
तत्कालीन राजपाबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह अहिले जसपामा आवद्ध छन् । त्यसैगरी माओवादी केन्द्रबाट निर्वाचित विदेह नगरपालिकाका मेयर र गणेशमान चारनाथ नगरपालिकाका उपमेयर एमाले प्रवेश गरि सकेका छन् । सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णय भएपछि जसपाले धनुषामा जनकपुरसहित १०, माओवादी केन्द्रले तीन र एकीकृत समाजवादीले पनि तीन सिटमा दाबी गरिरहेको छ । त्यसैगरी अघिल्लो निर्वाचन जनकपुरधाम उपमहानगरपालिकामा कुनै वडा जित्न नसकेको माओवादी केन्द्रले पाँचवटा वडा पाउनुपर्ने अडान राखेको छ । ‘अघिल्लो निर्वाचनमा हामीले जितेको भन्दा पनि कम लिन उहाँहरूले प्रस्ताव गर्नुभएको छ,’ कांग्रेसका ती पदाधिकारीले भने,‘केन्द्रले गरेको परिपत्रभन्दा फरक ढंगले उहाँहरू प्रस्तुत भइरहनु भएको छ । यस्तै रह्यो भने तालमेलको सम्भावना न्यून रहन्छ ।’
तर सबैको ध्यान जनकपुरधाममा केन्द्रित छ । गत निर्वाचनमा तत्कालिन राजपाबाट चुनाव लडेका लालकिशोर साहले २१ हजार ९०३ मत पाउँदा कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए । जबकि उनी प्रवेश गरेको दल जसपा (तत्कालिन संघिय समाजवादी पार्टी) बाट चुनाव लडेका विष्णुदेव साहले ३ हजार ६१२ मत मात्रै प्राप्त गरेका थिए । अघिल्लोपटक राजपाको मत पाएर साह मेयरमा निर्वाचित भएको र जसपा विभाजनपछि तीमध्ये अधिकांश मत महन्थ ठाकुर नेतृत्वको लोसपासँग गइसकेको विश्लेषण जानकारहरूको छ । त्यसैले पनि नेपाली कांग्रेस जसपालाई यो पालिकाको नेतृत्व दिने विचारमा छैन ।
कांग्रेसी नेताहरु जनकपुरधाममा गठबन्धन नगर्ने मन बनाएपछि हालका नगरप्रमुख साह एकदमै चिन्तित छन् । शुरुमा आफ्नो जनाधार कमजोर भई सकेको देखेर नगरप्रमुखमा फेरी नआउने मन बनाएका साह गठबन्धनको लोभमा जसपा प्रवेश गरे । जसपामा प्रवेश गरेपछि फेरी उनको मनमा नगरप्रमुखमा लड्ने मनस्थितिमा पुगे । तर गठबन्धन हुने सम्भावना न्यून देखिएपछि साह अहिले एकदमै चिन्तित देखिएका छन् ।