एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २३ : सरोकारबालाहरूले लिङ पहिचान गरी गरिने गर्भपतनविरुद्ध जनचेतना फैलाउनु आवश्यक रहेका बताएका छन् । जनकपुरधाममा बुधबार स्वास्थ्य मन्त्रालयले गरेको विभेदपूर्ण लिङ छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८ सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा सहभागीहरूले लिङ पहिचान गरी हुने गरेको गर्भपतनविरुद्ध विभिन्न कार्यक्रमहरू ल्याएर सर्वसाधारणलाई जागरुक बनाउनुपर्ने बताएका हुन् ।
उनीहरूले कानुन बमोजिम बाहेकका गर्भपतनविरुद्धमा आवश्यक नीति, योजन तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने पनि बताएका छन् । उनीहरूले विभेदपूर्ण गर्भपतन अन्त्य चुनौतीपूर्ण भए पनि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले विभेदपूर्ण लिङ छनौटको अन्त्यका लागि सरकारले १० वर्षे रणनीति बनाएर अघि बढेको जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयकी वरिष्ठ नर्सिङ अधिकृत सुनालक्ष्मी कर्मचारीले सबै तह, निकाय र समितिले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए । संघ सरकारले बनाएको विभेदपूर्ण लिङ छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८ सातै वटै प्रदेशमा कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले गोष्ठी गर्दै आएको छ ।





