कल्पना यादव
जनकपुरधाम, चैत २४ : नेपाल सरकारको सोमवारको निर्णय अनुसार लगातार २३ दिनको लकडाउन निरन्तर जारी छ । लकलाउनको १४ औं दिन सोमवार सम्म कतिको भान्साघर रितो भइसकेको छ भने दैनिक रोजीरोटी गरेर खाने दलित बस्तीको पिडा त झनै कहाली लाग्दो छ । जनकपुरधाम उपमहानगरपालिका भित्रको दलित र विपन्न बस्तीहरुमा केहि समाजसेवी र संघ संस्थाहरु पुग्ने गरेको भएपनि ग्रामिण भेगका दलित बस्तीहरुको अवस्था दयनिय छ । यस्तै पिडामा छन् धनुषाको हँसपुर नगरपालिका वडा नं. ६ टिल्ही स्थित मुसहर र रामको बस्ती ।
जनकपुरधाम भन्दा करिव दश किलोमिटर मात्र दुरीमा रहेको टिल्ही स्थित श्री तपसीबाबा कलेज र उच्च माविको छेउमै रहेको सो दलित बस्तीमा करिव ३५ परिवार दलित समुदाय महरा, रामहरुको बसोबास छ भने करिव २५ घर परिवार मुसहर सादाहरुको बसोबास छ । उनीहरुको चुल्हो नबलेको समेत कतिदिन भै सक्यो तर उनीहरु समक्ष कुनै पनि राहत पुग्न सकेको छैन । स्थानिय तपसी महरा रामका अनुसार काम बन्द भएको पनि हप्तौ बितीसकेकाले घरमा चुल्हो बाल्न कुनै पनि साधन छैन । कुनै पनि जितेका नेताहरु एक पटक पनि हालखवर बुझन समेत आएको छैन रामले भने, ‘फेसबुकमा राहत र खाद्यान्न समाग्री वितरणको फाटो नै फोटो हुन्छ तर खोइ त हाम्रो टोलमा कोहि पनि आउदैनन त ?
यस्तै पिडा मुसहर बस्तीका रामबरण सादा मुसहरले पनि सुनाए । उनी भन्छन, ‘तिनतहको सरकार र समाजसेवीहरुको राहत बारे रेडियो एफएममा समाचारमा दैनिक सुन्छु तर हामी संग त कोहि केहि सोध्न पनि आएका छैनन । राहतको सामान चिनजान र भनसुनकै आधारमा वितरण भइरहेको उनीहरुको दुःखेसो छ । कोरोना र यसको संक्रमणको कुनै पनि त्रास नदेखिएको उनीहरुमा भने भोक र अभावको पिडा स्पष्ट देख्न सकिन्छ ।