एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १९ :
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको योजना अघि बढिरहेका बेला जनकपुरधामस्थित रेल्वे स्टेशनको भौतिक पूर्वाधार तथा यात्रु सुविधामा सुधार गर्न माग गरिएको छ ।
जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै स्टेशनको सरसफाइ, खानेपानी, शौचालय, प्रतीक्षालयलगायतका आधारभूत सुविधा व्यवस्थित गर्न माग गरेको हो ।

अभियानका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा गएको टोलीले रेल्वे स्टेशनमा यात्रुको सहज आवागमनका लागि रेल चढ्ने र ओर्लिने स्थान व्यवस्थित गर्न तथा जीर्ण भौतिक संरचना र बिग्रिएका विद्युतीय उपकरणको मर्मतसम्भार गर्न ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, रेल्वे परिसरमा रहेका खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास गर्न, निर्माण सम्पन्न भइसकेका दैनिक हाटबजारका सटर तथा भवन सञ्चालनमा ल्याउन र रेल्वे क्रसिङमा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक सडक मर्मत तथा उचित छेकबारको व्यवस्था गर्न अभियानले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जनकपुरधामको पहिचान जानकी मन्दिरसँगै रेल्वेसँग पनि जोडिएको उल्लेख गर्दै यसको संरक्षण र व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले रेल्वेको सुधार तथा संरक्षणका लागि कम्पनी तयार रहेको पनि स्पष्ट पारे ।
नेपाल र भारतबीचको सहकार्यमा अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने योजना अघि बढिरहेका बेला सम्भावित यात्रुको चापलाई मध्यनजर गर्दै स्टेशनको पूर्वाधार र सेवा सुविधामा समयमै सुधार गर्नुपर्ने अभियानको जोड छ । अन्तरदेशीय रेल सेवा सञ्चालन हुनुअघि नै स्टेशनलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउनुपर्ने अभियानको माग छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा अभियानका उपाध्यक्ष प्रशान्त झा, महासचिव कौशल्या कुशवाहा, कोषाध्यक्ष अनिल चौधरीलगायत सहभागी थिए ।


