एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ : जनताको दबाबमा छिमेकी मुलुक भारतबाट फर्केका एक वडाध्यक्ष क्वारेन्टाइनमा भर्ना भएका छन् । तराई मधेशका जनता एति सचेत छन की आइतवार भारत विहारको मधुवनीवाट आएका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई पनि कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा भर्ना हुनु परयो । उनी भारतवाट फर्केपछि त्रसित भएका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठक भारतबाट आएको खवर गरे । त्यसपछि त्यहाँका प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका प्रमुख सँग छलफल गरेका थिए ।
स्रोतका अनुसार कतिपय नेताहरुले वडा अध्यक्ष पाठकलाई क्वारेन्टाइनमा बस्नै पर्नेमा सहमति जनाएनन् । तर गाउँलेले दबाब दिएपछि आज विहान वडाध्यक्ष पाठकलाई प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाव दिए । त्यसपछि उनी जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका छन् । वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको छ । गाँउपालिकाले त्यहाँ २० वेडको क्वारेन्टाइन निर्माण गरेको छ। क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक यस अघि ८ जना खाडी मुलु्क र भारतबाट फर्केकाहरु छन् । भर्ना भएका सबैका लागि गाउँपालिकाले खाना र अन्य व्यवस्था मिलाएको फोकल पर्सन अयोधी दासले बताए ।