एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ४ : नेपाल वैश्य युवा संघले जनकपुरधाममा जनगणना २०७८ मा वैश्यको अवस्था विषयमा वृहत छलफल तथा बहस चलाउने भएको छ । कार्तिक ६ गते शनिवार जनकपुरधामको कलवार कुट्टीमा एमालेका नेता तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ, लोसपाका नेता राजेन्द्र महतो, बिरगंजका मेयर विजय सरावगी सहितको भब्य उपस्थितीमा संघले जनगणनामा वैश्य समुदायको अवस्था विषयमा बहस कार्यक्रम राखेको छ ।
संघको प्रदेश २ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सो विषयक बहस र तर्क विर्तकका साथै दिपावली, साकाचकेवा र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापानको समेत आयोजना गरेको छ । प्रदेश १, २, ३ र ५ को समेत विभिन्न जनप्रतिनिधी तथा वैश्य अभियन्ताहरुलाई डाकिएको कार्यक्रममा वैश्य कलस्टर र वैश्य आयोगको लक्ष्य सम्मका लागि आधारशिला तय गरिने संघका केन्द्रिय अध्यक्ष दिलिपचन साहुले बताएका छन् ।
कार्यक्रमका आयोजक संघ प्रदेश २ का अध्यक्ष राजु कुमार साहले सो कार्यक्रमलाई आफनै कार्यक्रम बुझेर आफनो पहिचान, मान सम्मान र स्वाभिमानका लागि दुई शब्द राख्न र सुन्न भएपनि कार्यक्रममा आउन वैश्य समुदायका सवै जातजातीका अगुवाहरुलाई अपिल समेत गरेका छन् ।


