एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
श्री महावीर युवा कमिटिको नयाँ कार्यसमिति चयनका लागि भोली शनिवार हुने मतदानमा अध्यक्ष पदका प्रत्यासी अजय कुमार गुप्ताको चर्चा व्याप्त छ । अध्यक्षमा चारजना उम्मेदवार मध्ये सवै भन्दा कान्छो भएपनि सवैलाई सम्मान गर्ने हँसिलो अनुहारका अजयको आफनै पहिचान छ ।

हाँसेर बोल्ने अरुलाई आदर गर्ने र सवैलाई मिलाएर जानुपर्ने उनको गतिविधीका कारण उनी महासचिवमा जितेको मात्र होइन गत चुनावमा झिनो मतान्तरले अध्यक्ष पदमै पराजित भएकाले उनको सम्भावना प्रवल रहेको कमिटिका सदस्यहरुको भनाई छ । मिलनसार मिजाजका अजय प्रति सदस्यहरुको झुकाव रहेको संस्थाका पुर्व पदाधिकारीहरुकै पनि भनाई छ।

धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधीमा निरन्तर काम गर्दै आईरहेको जनकपुरधाम स्थित श्री महावीर युवा कमिटीको भदौ १२ गते शनिबारका दिन हुन लागेको निर्वाचनको विगत हेर्दा पुर्व निर्वाचनमा पराजित प्रत्यासी जित्ने भएकाले समेत उनको सम्भावना प्रवल रहेको कतिपयको भनाई छ । करिव डेढ दशकदेखि कमिटीसँग आबद्ध रहेका उनी कार्यकारिणी सदस्यदेखि महासचिवसम्मको सफल कार्यकालको भूमिका निर्वाह गरिसकेका छन् ।

महावीर युवा कमिटीले प्रत्येक वर्ष भव्यताका साथ आयोजना गर्दै आईरहेको माता श्री राजदेवी पूजा नवरात्रीको विभिन्न कार्यक्रमहरुमा समेत अजयले विभिन्न क्षेत्रको संयोजकको भूमिका सक्रियता र कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । उनले आफू यस पदमा निर्वाचित भए कमिटीको सबैभन्दा महत्पूर्ण कार्यक्रमको रुपमा रहेको माता श्री राजदेवी पूजाका साथै युवाहरुको चौतर्फि विकासका लागि नयाँ योजनाहरु ल्याउने प्रतिबद्धता जनाएका छन् ।

समाजसेवा संस्थाको मुख्य उद्देश्य रहेकोले सामाजिक कार्यहरुमा बढि संलग्न हुने बताउँदै अजयले खेलकुदको विकाससँगै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरुको समेत आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । युवाहरूको आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी समाजको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन आफ्नो भूमिका अर्थपूर्ण रहने उनको दावी छ । ४ सय २८ जना सदस्यको आवद्धता रहेको महावीर युवा कमिटीमा ११ सदस्यीय कार्यसमितिका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा अजय सहित कुल ४ जना उम्मेदवारको शनिवार प्रतिस्पर्धा हुनेछ ।