एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जनकपुरदेखि रामेछापसम्मका ७ वटा वितरण केन्द्रमा आकस्मिक लोडसेडिङ गर्न लागेको छ । प्राधिकरणको ढल्केवर सव स्टेशनमा जडित ३० एम.भि.ए. क्षमताको पावर ट्रान्सफर्मर जलेकोले ढल्केवर ग्रीड शाखाको निर्देशनानुसार जनकपुरधाम, धनुषाधाम, यदुकूहा, जलेश्वर, सिन्धुली, मलंगवा र रामेछापलगायतका वितरण केन्द्रहरुको विद्युत व्यवस्थापन गर्न आलोपालो गरी विद्युत अवरुद्ध गर्न लागिएको हो ।
खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ दिन लाग्ने भएकाले ती वितरण केन्द्रमा कम्तिमा १५ दिनसम्मै निश्चित समय लोडसेडिङ हुन लागेको प्राधिकरणले जनाएको छ । यसबाट महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप र ओखलढुंगाको पश्चिमी भेगका सर्वसाधारण बिजुली उपयोग गर्नबाट वञ्चित हुने भएका छन् ।