एसपी रिपोर्टर
जनकपुरधाम, साउन १९ : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा एक प्रहरी जवानलाई निलम्बन गरिएको छ । यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ । लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
उक्त घटनामा जिल्ला प्रहरी धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको प्रदेश प्रहरी प्रमुख डीआइजी उमेश रञ्जितकारले जानकारी दिए । यस्तै हिरासत कक्षमा ड्युटीमा खटिएका प्रहरी जवानलाई भने निलम्बन गरिएको उनले बताए । घटनाको छानविनका लागि डीएसपीलाई प्रदेश प्रहरी तानेर जवानलाई निलम्बन गरिएको उनले बताए । दाजुभाइको विवादमा ज्यान मार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटीवापतको रकम तिर्न परिवारले जोहो गरिरहेकै अवस्थामा उनी प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
एता मृत अवस्थामा फेला परेका रविदासको घटना छानविनका लागि परिवारजन र स्थानीयले आन्दोलन गर्दै आएका थिए । उनीहरुले शव समेत बुझ्न नमानिरहेको सन्दर्भमा मंगलबार तीनबुँदे सहमति भएको छ । सहमतिपछि मृतकका परिवारले शव बुझेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार कर्णले बताए । उनका अनुसार घटनाको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन तथा मृतक परिवारलाई राहतको व्यवस्था गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ । यस्तै, मृतकका आफन्त र स्थानीयले आन्दोलन स्थगित गरी शव बुझ्ने निर्णय भएको उनले बताए । मृतक परिवारलाई प्रदेश २ सरकारले तत्काल पाँच लाख नगद सहयोग गर्ने समेत सहमती भएको छ ।