एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ : नेपाल विश्व हिन्दु महासंघले हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्नेलाई विज्ञप्ती मार्फत कारवाहीको लागि मांग गरेको छ । विज्ञप्ती अनुसार २०७८ अषाढ ४ गते शुक्रबारका दिन राजनीतिक विश्लेषक सि.के.लालद्वारा आपत्तिजनक तथा घृणित अभिव्यक्ति दिइएको प्रति आपती छ । उनले संस्कृत शिक्षाले हिन्दु तालिबान उत्पादन गरेको छ भने आशयको अभिव्यक्ती दिएका थिए ।
त्यसैगरी गत साता मिति २०७८ जेष्ठ २८ गते शुक्रबार कै दिन पूर्वमन्त्री हिसिला यमीले आफ्नो ट्विटर ह्यान्ड्लको माध्यमबाट अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध लाई इङ्गित गरि गरेको अभद्र टिप्पणी गरेको प्रति नेपाल विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल विश्व हिन्दु महासंघको केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल र केन्द्रिय सचिव अभिषेक तिवारीद्वारा जारी संयुक्त बिज्ञप्तिमा नेपालमा बस्ने तीन करोड नेपालीहरु मध्ये ८४ प्रतिशत हिन्दु एवं ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेको बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै राजनीतिक विश्लेषक तथा पूर्वमन्त्रीले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणीको नेपाल विश्व हिन्दु महासंघ कडा शब्दमा निन्दा तथा भत्सर्ना गर्दछ विज्ञप्तीमा उल्लेख छ ।
केहि संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्थासंग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरुबाट उजागर भइरहेको भन्दै त्यस्ता असामाजिक तत्वहरु लाई कानूनी कारवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढिरहेको प्रति ध्यानाकर्षण गराइएको छ ।
तसर्थ संस्कृत शिक्षा र अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध प्रति यस्ता अत्यन्त आपत्तिजनक, घृणित तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरु लाई यथाशीघ्र कानूनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कारवाही गर्न महासंघ माग गर्दछ, विज्ञप्तीमा लेखिएको छ ।
विज्ञप्ती हेर्नुहोस






