एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ : दोश्रो भेरिअन्टको कोरोना तीव्र रुपमा पैmलिरहदा धनुषाका स्थानीय तहहरुले स्थानीय स्तरमै पीसीआर टेष्टको व्यवस्था गरेको छ । धनुषाको हंसपुर नगरपालिकाले स्थानीयहरुको पीसीआर गराउन आजदेखि अभियान नै संचालन गरेको छ । हंसपुर नगरपालिकामा आज बिहान स्थानीयहरुको स्वाब संकलन गरिएको छ । जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालाको समन्वयमा नगरबासीको स्वाब संकलन गर्न लागेको हो ।
१० वटा वडा रहेको नगरपालिकामा चार दिनसम्म स्वाब संकलन कार्य संचालन गरिने भएको छ । केही दिन यता कोरोनाको संक्रमण शहरी भेगको तुलनामा ग्रामीण क्षेत्रमा बढी देखिएको छ । गाउँहरुमा ज्वरो, रुघाखोकी, झाडापखाला, स्वासप्रश्वासमा समस्या देखिएको रोगीहरु बढ्न थालेको छ । कोरोनको त्रासले उनीहरु परीक्षण नगराउँदा संक्रमित बढ्दै गएको स्वास्थ्यकमीहरुले बताएका थिए ।

पालिकामा कोरोना संक्रमण न्युनिकरण गर्ने उद्येश्यले स्थानीयहरुको स्वाब संकलन गर्ने कार्य गरिएको नगर प्रमुख रामज्ञान मण्डलले बताए । ज्वरो, रुघाखोकी लगायत कोरोना संक्रमणको लक्षण देखिएको नागरिकको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो । नतिजा पोजिटिभ आएको नागरिकको व्यवस्थापनसहित सबै खर्च नगरपालिकाले उपलब्ध गराउने उहाँले जानकारी दिएका छन् ।
नगरपालिकाको प्रत्येक नागरिकको ज्यानको रक्षा गर्ने आप्mनो दायित्व रहेकोले यसको लागि हरसम्भव प्रयासरत्त रहेको नगर प्रमुख मण्डलले थपे । यसअघि पालिकाको १० वटै वडामा किटनाशक औषधी छर्किने अभियान संचालन गरिएको थियो ।