एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका निवर्तमान अध्यक्ष शालिग्राम सिंह गाडी नगद र जिन्सी बरबुझारत गर्न मानेका छैनन । उनको कार्यकाल सम्पन्न भएको सात महिना वित्न लाग्दा समेत सिंहले अध्यक्षका रुपमा सुविधा पावत पाएको गाडी नगद र जिन्सी अहिले सम्म बरबुझारत गरेका छैनन । २०७४/०९/२८ मा अध्यक्ष नियुक्त भएका उनको चार वर्षिय कार्यकाल गत पुष २७ गते सकिएपछि पटक पटक पत्राचार गर्दा समेत उनले गाडी र्फिता गर्न मानेका छैनन ।
सिंहलाई गत माघ १० गते नै गाडी फिर्ता गर्न पहिलो पत्राचार गरिएको थियो तर उनले सुनेनन् । त्यपछि २०७८ माघ १८ गते पुन: अर्को पत्र काटिएको छ । यस पत्रमा भने गाडी फिर्ता गर्न मात्र भनिएको छैन परिषद मातहतको यात्री निवासको पहिलो तल्लाको कोठा नं. २०१ र २०२ गरि दुईवटा कोठा ५ सय ४३ दिन सम्म व्यक्तिगत ताल्चा हानेर प्रयोग गरेको र दोस्रो तल्लामा रहेको नव निर्मित २ वटा स्वीट कोठाहरु ३ सय ६५ दिन सम्म निरन्तर व्यक्तिगत प्रजोजनका लागि ताल्चा हानेर प्रयोग गरे बापतको रु. ११ लाख ४४ हजार ८ सय सहित साँचो बुझाउन भनिएको छ ।
हुनत उनले सो कोठाहरु प्रयोग गरे बापत कुल २२ लाख ८९ हजार ६ सय बुझाउनु पर्ने थियो तर २०७६ बैशाख १ गतेको बैठकले वृहतरका पदाधिकारीहरुले यात्री निवासको कोठा प्रयोग गर्दा पचास प्रतिशत छुट दिने भनि निर्णय भएकाले मात्र ११ लाख ४४ हजार ८ सय बुझाउन भनिएको छ । स्रोतका अनुसार सिंहले कुर्सी सहितका धेरै समानहरु समेत सिंहले नै प्रयोग गर्ने गरेको र अहिले सम्म बरबुझारत गर्न मानेको छैन ।
२०७४ ११ ०२ मा खानेपानी तथा सरसफाई मन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले सिंहका लागि बा २ झ ३०५३ नं. को ईसुजु भ्यान उपलब्ध गराएको थियो । सिंहलाई वृहतरले गत २०७९ असार २० गते काटेको पत्रमा समेत उनी गाडी, जिन्सी र कागजातहरु समेत नबुझाएको भन्दै फिर्ता गर्न तागेदा गरिएको देखिन्छ ।
वार्षिक २ करोड कर्मचारीले खाने वृहतरमा बिकास बजेट १ करोड मात्र
वृहतरको सम्पती निवर्तमान अध्यक्ष सिंहले बुरबुझारत नगरेको सम्बन्धमा आज (मंगलवार) एसपी खवरसंगको कुराकानीमा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरले आफु अध्यक्ष सहित सोहि विषयमा बुझन काठमाण्डौं आएको बताए । ठाकुरका अनुसार निवर्तमान अध्यक्ष सिंहले गाडी बुझाउछु तर गाडीमा मेरो लाखौं खर्च भएकाले मैले पाउनु पर्ने तर्क उल्टै राख्ने गरेका छन् ।
कार्यकाल सम्पन्न भएको करिव सात महिना सम्म अनाधिकृत रुपमा सरकारी गाडी र जिन्सी प्रयोग गरेका सिंहको करनीले समेत सरकारी कार्यालय र सम्पतीको दुरुपयोग दर्शाइरहेको छ । जनकपुरधाम र मिथिला क्षेत्रको धार्मिक, पर्यटकीय, कला, संस्कृती सहितको वृहत विकास र संरक्षणका लागि गठन भएको वृहतरको अवस्था आफै दयनिय छ । कार्यालय सञ्चालनमा वार्षिक २ करोड खर्च भइरहेको वृहतरले वार्षिक १ करोड सम्म मात्र विकासे बजेट पाउने गरेको नव नियुक्त अध्यक्ष शितल साह बताउछन् ।
त्यसमा पनि धेरै बजेट फ्रिज नै भइरहेको छ । उनले परिषदको नाम वृहतर राखिएको भएपनि बजेट संकुचित रहेको बताउछन् । यस्ले समेत यस्ता संस्थाहरु नाम मात्रको र कार्यक्रता भर्ती केन्द्रका रुपमा प्रयोग भइरहेको प्रस्ट हुन्छ । परिषदमा कांग्रेसको सिफारिसमा तत्कालिन प्रभावशाली नेता महेन्द्र नारायण निधी, तत्कालिन एमालेका रामचन्द्र झा हुदै हाल नेकपा एसको सिफारिसमा मन्त्री परिषद निर्णयबाट वरिष्ठ पत्रकार शितल साह अध्यक्ष नियुक्त भएका छन् ।