एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ :
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनमार्फत पार्टीलाई विभाजन गर्ने काम भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको जनकपुरधाम नगर सभालाई सम्बोधन गर्दै निधिले विशेष महाधिवेशन भएको दिनदेखि नै कांग्रेस व्यवहारिक रूपमा दुई भागमा विभाजित भएको दाबी गरे । कानुनी प्रक्रिया बाँकी रहे पनि पार्टी विभाजित भइसकेको विषयमा भ्रममा नपर्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।
निधिले गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूले पार्टीको निर्धारित प्रक्रिया पूरा नगरी विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाए । विशेष महाधिवेशन बोलाउने निर्णय केन्द्रीय कार्यसमितिबाट हुनुपर्नेमा केही नेताले आफैं घोषणा गरेर प्रक्रिया मिचेको उनको दाबी थियो ।
विशेष महाधिवेशन पक्षधरले वडा तहसम्मै कांग्रेसलाई विभाजित गर्ने काम गरेको आरोप लगाउँदै निधिले आफूहरू नै मूल कांग्रेस भएको दाबी गरे । पार्टीभित्र विभाजनको अवस्था देखिए पनि नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले पहिलेभन्दा बलियो कांग्रेस निर्माण गर्ने बताए ।
उनले कांग्रेसको संगठनलाई वडा तहसम्म सक्रिय बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
निधिको यस्तो भनाइ कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकता तथा त्यसबाट भएको नेतृत्व परिवर्तनलाई लिएर जारी विवादकै बीच आएको हो । कांग्रेसको आधिकारिक वेबसाइटमा भने १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढिरहेको र असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने कार्यतालिका राखिएको छ ।