एसपी रिपोर्टर
सिरहा, वैशाख १२ : पूर्वमन्त्री, संघीय सांसद् तथा प्रदेश सांसदहरूले सिरहाको मिर्चैया बजारमा भएको तोडफोड घटनाको भत्र्सना गरेका छन् । मिर्चैया नगरपालिकाले गत माघ र फागुनमा गाउँब्लकभित्र पर्ने बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरिदिएको थियो ।
घटनालाई लिएर सिरहाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, पूर्वमन्त्री तथा प्रदेश सांसद्हरूले मंगलबार मिर्चैयामा पत्रकार सम्मेलन गरी नगरपालिकाको कदमप्रति आक्रोश व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनसँगै संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले गाउँब्लक जग्गाको नाप नक्सासमेत भइसकेको अवस्थामा घरहरू तोडफोड गरिएको र जग्गाधनीहरूलाई लालपुर्जा वितरणमा रोक लगाइएको घटनाको निन्दा गरेका छन्् ।

नगरपालिकाले गैरकानुनी रूपमा मिर्चैयास्थित विशेष नापी कार्यालयलाई लालपुर्जा वितरणमा रोक लगाएको पनि उनीहरूको आरोप छ । नगरपालिकाले घर भत्काइदिएपछि स्थानीयमा पर्न भएको पिर–मर्काप्रति पूर्वमन्त्री तथा जनप्रतिनिधिहरूले दुःख व्यक्त गरेका छन् । साथै, वैशाख ७ गते घर तोडफोडको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।
रीत क्रियाकलाप गरिएको भन्दै उनीहरूले कमी कमजोरी तत्काल सच्याएर पीडितहरूलाई न्याय दिन नगरपालिका, मालपोत कार्यालय र विशेष नापी कार्यालयलाई आग्रह गरेका छन् । सिरहाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्हरू जसपाका वीरेन्द्र महतो, नेकपा एमालेका लिलानाथ श्रेष्ठ, मञ्जु खाँड, पूर्वमन्त्रीहरू तथा नेकपा माओवादी नेता महेन्द्र पासवान र अजयशंकर नायक, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष धर्मनाथप्रसाद साह, प्रदेश सांसद्हरू जनमत पार्टीका त्रिभुवन साह र भाग्यश्री चौधरी, राप्रपाकी कञ्चन बिच्छा र नेकपा माओवादीका दिलिप साहले संयुक्त रूपमा विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका हुन् ।
यसैबीच, मंगलबार पनि उनीहरूले नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरूले तत्काल लालपुर्जा जारी गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उपचार गराउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् ।





