एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ :
संगीतकार तथा कार्यक्रम आयोजक सन्तोष राज सहनी यस वर्षको उत्कृष्ट इभेन्ट आयोजकको सम्मान पाएका छन् । संगीतकार सहनी निकिला मिडिया नेटवर्क, पब्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा काठमाडौंको होटेल हायात प्यालेसमा आयोजित गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणमा सो अर्वाड प्राप्त गरेका छन् ।

संगीतकार सहनीले मधेस प्रदेशमा दुई दर्जन भन्दा बढी साँस्कृतिक कार्यक्रम आयोजना गरेको, ४०० भन्दा बढी गीतमा संगीत भरेको र दर्जनौं नेपाली तथा भोजपुरी चलचित्रमा पनि काम गरेको भन्दै सो अर्वाड प्रदान गरिएको हो । चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी संस्था, सञ्चार, वातावरण, कला तथा संस्कृति, खेलकुद लगायत करिब डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका ३७ जना उत्कृष्ट व्यक्तित्वहरूलाई सो अवसरमा अवार्ड वितरण गरिएको थियो ।

सहनी भोजपुरीका नायक दिनेशलाल यादव, पवन सिंह, खेसारीलाल सहित राजेश हमाल, भुवन केसी सहितका सुपरस्टारहरुलाई बोलाए मधेश सहित देशका विभिन्न स्थानमा भब्य कार्यक्रमहरु गर्दै आइरहेका छन् । प्रत्येक वर्ष करिब दुई दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकामा यस वर्ष नेपाल महिला चेम्बरकी अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, विशिष्ठ सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, वरिष्ठ अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ समाजसेवी डा. सुशीला मल्ल तथा कार्यक्रमका सभापति क्याप्टेन जनक अधिकारी लगायतले श्रेष्ठलाई सम्मान अर्पण गरेका थिए ।