– प्रफुल्ल घिमिरे

मिथिला भूमि संसारको भुस्थलमा सर्व उत्कृष्ट तपोभूमी हो । राजर्षी सीरध्वज जनकले राज्यमा अकाल पर्दा गरेका हलेश्वरी यज्ञमा स्वर्णका हलोले भुमी जोत्दा आदि शक्ति सीता बैशाख नवमिका दिन यै भुमिबाट प्रकट भएकी हुन । यो भु–भाग मिथिला महात्म्यमा उल्लेख भए अनुसार गंगा देखि हिमालय सम्म ६४ कोस चौडाइ र कोसी देखि गण्डकी सम्म ९६ कोष लम्बाइ क्षेत्रमा सौन्दर्यताले भरिएको देवभूमी एंव तपोभूमी हो ।

त्रेता युगमा बिष्णुजि आफ्नो साकेत धामवाट यस लोक अबधमा रामचन्द्रको रुपमा अवतरित हुँदा महालक्ष्मी पनि सम्पुर्ण बैकुण्ठ धामलाई संगै लिएर मिथिलाको पवित्र यस भु–भागवाट प्रकट भएकी हुन । यो भूमि देवी देवताहरुको प्रिय स्थलको रुपमा रहिआएको छ । यस भूमिवाट दर्शन शास्त्रहरुको बिस्तार भएका छन। यो भूमिले संस्कृत बिधाको चितन गरेको छ ।

ठूलठूला योगि, ऋषि–महिर्षिहरुको आश्रम स्थल रहेको ,कर्म स्थल बनेको, तपोभूमी–सिद्ध भूमि शक्ति पीठको रुपमा पुज्यनिय बन्न्दनीय रहेको छ । यसै सर्वश्वलाई लिएर एउटा प्रसिद्ध तिर्थस्थलको रुपमा संसार कै हिन्दू सनातन धर्मावलम्बीहरुको अगाध आस्था रहेको छ । यसै आस्था एंव मान्यताले गर्दा मोक्ष प्राप्ति एंव पुण्य आर्जनका लागि यस भुभागको परिक्रमा हिन्दु धर्मावलम्बीहरु गर्ने गर्छन् ।

यस भुभागाको परिक्रमा गर्दा यस लोकमा आफ्नो इच्छित मनोकामना पुर्ण भइ परलोकमा बैकुण्ठ धाम प्राप्त हुने बिश्वास रहिआएको छ । भगवान राम र आदि शक्ति सितासंग सम्बंद्ध रहेका बैकुण्ठ धाम कै स्वरूप मा रहेका मिथिला क्षेत्रका स्थलहरु , यस भुभागका जलाधी एंव तलाउहरुमा नुहाउंदा ,पानी खादा (सेचन गर्दा), दर्शन गर्दा गरेको पापहरु नष्ट भएर बैकुण्ठ धाम प्राप्त हुने र मनुष्यले पूनरजन्म लिनु नपर्ने धार्मिक मान्यता रहिआएको छ ।

यही बिश्वासमा रहेर परापुर्व कालदेखि सन्त–महन्त, ऋृषि–मुनिहरु लगायत हिन्दु धर्मावलम्बीहरु भजन किर्तनका साथ मिथिला क्षेत्रका परिक्रमा गर्दै आइरहेका छ्न । मिथिला भुभागको परिक्रमा तीन प्रकारका रहेका छ्न। बृहत् परिक्रमा , मध्यमा परिक्रमा र लघ्वी परिक्रमा । बृहत परिक्रमा गर्दा सम्पुर्ण मिथिला राज्यको परिक्रमा हुन्छ भने मध्यमा परिक्रमा किलाको परिक्रमा हो। लघ्वी अर्थात अन्तरगृह परिक्रमा चाहिँ महलको परिक्रमा हो ।

बृहत परिक्रमा :

बृहत परिक्रमा परापुर्वकालको मिथिला राज्यको वा भनौं सम्पूर्ण मिथिला भूभागको हो। जनकपुर मीमांसामा उल्लेख भएअनुसार यो परिक्रमा मङ्सिर महिनामा गर्ने गरिन्छ । नियमानुसार कोशी र गंगाको संगम स्थलमा स्नान गरेर सिंधेश्वर महादेवको दर्शन गरेर प्रारम्भ हुन्छ । सीतारामको ध्यान एंव भजन गर्दै गंगाको तटैतट परिक्रमा गर्दै पश्चिमतर्फ जाँदा गंगा र गण्डकको संगम स्थलमा पुगिन्छ । सो संगममा स्नान गरेर हरिहर नाथ हरिहर क्षेत्रको दर्शन गर्नुपर्छ र पश्चिम् बढदै जाँदा बगहा छेउमा जटेश्वरनाथको दर्शन गरिन्छ ।

भैसालोटन वाल्मीकि आश्रम हुँदै देवघाट पुगिन्छ ।जलेश्वर नाथको दर्शन गरिन्छ । रोशी कोसीको संगममा स्नान गरेर कुशेश्वर नाथको दर्शन गरिन्छं । ताम्र कोसि र सुन कोसीको संगममा स्नान गरेर वैणेश्वर महादेवको दर्शन गरिन्छ । यसपछि अगाडि बढदै गएमा दुग्ध कोसि सुनकोसीको संगममा स्नान गरेर दुग्ध ईश्वरनाथको दर्शन गरिन्छ । सोही मार्गमा अरुण कोसी र अन्य कोसिको संगम छ ।

त्यहाँ जनक ईश्वरनाथ आशुतोष भएर रहेका छन। यसरी सिधेंश्वर महादेवको दर्शन गर्दै गंगाको तट हुँदै कोसी –गंगा , गण्डकी–गंगाको संगम स्थलहरुमस स्नान गर्दै गंगाको तट हुदै हिमालय को तलको फाँट भएर कामेश्वरनाथ महादेवको दर्शन पश्चात् अन्तमा पुनः सिंधेश्वर महादेवको दर्शन गरेर बृहत परिक्रमा समापन गरिन्छ । यो मिथिला राज्यको ठूलो परिक्रमा मार्ग निश्चित गरिएको छ। यो परिक्रमामा अधिक समय लाग्ने भएकाले ऋृषि मुनि सन्त भक्तजनहरु आज पनि मण्डली बनाई परिक्रमा गर्ने गर्दछ्न ।

मध्यमा परिक्रमा :

यस परिक्रमालाई श्री मिथिला बिहारिको परिक्रमा, मध्यमा परिक्रमा, पञ्चाहिनी परिक्रमा, पञ्चकोसी परिक्रमा, पन्द्रदिने परिक्रमा भनेर सम्बोधन गर्ने गरिन्छ । परापुर्वकालमा यस मध्यमा परिक्रमालाई पाँच दिनमा सम्पन्न गर्ने गरिन्थ्यो । अहिले पनि कतिपय श्रद्धालु भक्तजनहरु यो परिक्रमा गर्ने गर्छन। यसरी पाँच दिनमा गरिने परिक्रमालाई पञ्चाहिनको परिक्रमा पनि भनिन्छ ।

यो परिक्रमालाई मिथिला बिहारिको परिक्रमा पनि भनिने गरिन्छ । मिथिला बिहारी भगवान श्रीरामलाई भनिन्छ । भगवान श्रीराम (मिथिला बिहारी) को डोलाको नेतृत्वमा यो परिक्रमा शुरूवात हुन्छ । अष्टमी तिथिका दिन कल्याणेश्वरवाट चार कोस पश्चिम माता सीताले प्रत्येक दिन पुजा गरिने ईष्टदेवी गिरिजा माता बिराजमान रहेकी गिरिजा स्थानमा विश्राम गरिन्छ । नवमीका दिन स्नान ध्यान गरेर गिरिजा माताको पुजा अर्चना पश्चात् भक्तजनहरु मार्गमा रहेका देवी देवताहरुको दर्शन गर्दै चार कोष पश्चिम जल भित्र बिराजमान रहेका जलेश्वर नाथ महादेवका स्थान जलेश्वरमा विश्राम गर्दछन । दशमीको दिन दस कोस परिक्रमा गर्दै सिद्ध क्षिरेश्वर नाथ महादेवको वासस्थान क्षिरेश्वरमा विश्राम गर्दछन ।

क्षिरेश्वर नाथ महादेवको दर्शन पश्चात् एकादशिका दिन आठ कोस परिक्रमा गर्दै धनुष खण्डको अवशेष रहेको स्थान धनुषा धाममा बास बसिन्छ । द्ववादशिका दिन त्यहाँ अवस्थित बाल गंगा , पवित्र तलाउहरुमा स्नान एंव सेचन गर्दै धनुषा धामको दर्शन गरेर नौ कोस परिक्रमा गर्दै पुनः कल्याणेश्वरमा पुगेर आफ्नो संकल्प पूरा गर्दछ्न । अघिल्लो तिथिमा ऋषि विश्वामित्रको आश्रम स्थल हुदै जनकपुर धाम आउने परम्परा रहेको छ।

यो परिक्रमाको पडाव धेरै टाढा पर्न गएकोले भक्तजनहरुको सेवार्थ एंव कल्याणार्थ साधु सन्तहरुले पन्द्रह दिने परिक्रमाको शुरूवात गरे। यो परिक्रमा पहिले सीता कुण्डवाट नै उठने गर्दथ्यो । सीता कुण्डका महन्त पण्डित श्री वैष्णब शरणजि थिए । यसै स्थानका गुरु भाइ लाडली शरण कचुरी स्थानका महन्त भए। पछि केहि कुरामा मतान्तर हुँदा यहाँका पुरातन युगल मुर्ति मिथिला बिहारिका कचुरी स्थानमा लगिए। यही प्राचीन मुर्तिहरु कचुरी स्थानबाट डोलामा राखी पुजा अर्चना गरेर बेहुला बनाएर पन्द्र दिनको परिक्रमाको नेतृत्व गराउदै डोला परिक्रमाको लागी निस्कदछ। यो डोला परिक्रमाको मार्गमा गाउँ गाउँमा अडडै देव देवि स्थलहरुमा विश्राम गर्दै अन्तमा पन्द्र दिनमा जनकपुर धामको अन्तगृह परिक्रमा गरेर समापन हुदछ ।

भनिन्छ – मिथिलाका राजकुमारी सितासंग अवधका राजकुमार दुलहा श्रीराम बिवाहा गर्न जन्तीका साथ आएका बेला उनको डोला गाउँ घर हुदै देवी देवता स्थल पिठ, थान, डोह, ऋषि आश्रम, बन ,नदिको दर्शन गर्न घुमेको हुँदा सो ठाउँहरुको परिक्रमा गर्न शुरूवात भएको हो । मध्यमा परिक्रमाको मार्ग मिथिलाको राजधानी जानकपुर धाम महर्षी राजा सिरध्वज जनकको किला हो भनेर पनि भनिने गरिन्छ । यसै समय देखी मिथिलामा आज पनि बिवाहा गर्न आएका दुलहालाई गाउँ घरका देवी देवताको दर्शन गराउने चलनको शुरूवात भएको मानिन्छ ।

   पन्द्र दिने मध्यमा परिक्रमाको पनि आफनै किसिमको बिधि रहेको छ । फाल्गुन औंसीका दिन धनुषा जिल्लाको कचुरी गाउँमा अवस्थित मिथिला बिहारिको मन्दिरमा बिराजमान रहेका मिथिला बिहारी राम र सिताको मुर्ति डोलामा सजाएर राखिन्छ । पुजा अर्चना गरिन्छ । घण्टी घण्टा ,शंख बजाउदै ध्वजा पताका एंव विभिन्न देबि देवताका साथ मिथिला बिहारिको डोला परिक्रमाको लागी अगाडि बढछ । दुलहाका रूपमा रहेका रामको डोलाको पछि पछी भक्तालुहरु भजन किर्तन गर्दै पञ्चकोसी परिक्रमाका लागी प्रस्थान गर्दछ्न । 

मिथिला बिहारिको डोला जनकपुर धाम राजा जनकको खजाना रहेको रत्नसागर स्थानमा पुग्दछ। यहाँ डोलाको पुजा पाठ एंव आरति गरिन्छ । साधु सन्त, भक्तजनहरुलाई खाना खुवाइन्छ र यहाँबाट डोला जानकी मन्दिरका लागी प्रस्थान गर्दछ। जानकी मन्दिरमा पनि पुजा पाठ आरति गरेर डोलाको स्वागत गरिन्छ । पाँच पद रामायणको सुनाएर डोलाको बिदा गरिन्छ । डोला जानकी मन्दिरको परिक्रमा गरेर हनुमान गढिकालागी प्रस्थान गर्दछ। जनकपुर धामबाट दक्षिण हनुमान गढि (हनुमान नगर )मा बिराजमान रहेका भगवान रामका प्रिय सेवक हनुमानजिको मन्दिरमा पुजा पाठ अर्चना गरेर डोलाको स्वागत गरिन्छ । पहिलो रात्रीको बिश्राम डोलाको यसै स्थानमा हुँदछ । यहाँ भक्तजनहरु सीतारामको दर्शन गरेर बिशाल रुपमा रहेका साक्षत श्री श्री श्री १०८ महाबिर हनुमानजिबाट आशीर्वाद ग्रहण गर्दछन ।

   फागुन परेवाका दिन हनुमान नगरबाट चार  कोस दक्षिण पुर्व हुँदै भारत बिहार राज्यको मधुबनी जिल्लामा अवस्थित कल्याणेश्वर स्थानमा पुगेर डोलाको विश्राम गराइन्छ । यहाँ सबैको कल्याण गर्ने कल्याणेश्वर महादेव बिराजमान छन । भजन किर्तन गर्दै झाँकी धार्मिक नृत्य गान एंव ऋषि मूनिहरुका प्रवचन सुन्दै भक्तजनहरु रात बिताउद छन । 
   भोलिपल्ट द्वितियाका दिन स्नान ध्यान गरि कल्याणेश्वर महादेवको दर्शन गरेर यँहाबाट चार कोष पश्चिम भारतकै बिहार प्रदेशको मधुवनी जिल्लामा अवस्थित श्री गिरिजा स्थानमा डोलालाई विश्राम गराइन्छ । यहाँ आदिशक्ति सिताकी इष्ट देवि सिद्धीदायक गिरिजा बिराजमान रहेकिछिन । भक्तजनहरु पुजा पाठ दर्शन गर्दछ्न । 
       तृतीयाका दिन यहाँबाट साढे चार कोष पश्चिम परिक्रमा गर्दै डोला वैष्णव पिठ मठिहानी (मृत्खनी) पुग्दछ। राती यहीँ विश्राम गरिन्छ । यहाँ लक्ष्मीनारायण बिराजमान रहेका छन । सीताजिको मटकोर ( बिहेको बेला माटो खन्ने विधि) यहीँबाट पवित्र माटो खनी लगिएर गरिएको थियो । यसैले यस ठाउँको नाउँ मृत्खनी हुन पुग्यो । मृत्खनिबाट नाउँ अप्रभंश हुदै मठिहानी बन्न पुग्यो । यस बैष्णव पिठमा श्री लक्ष्मीनारायणको ध्यान गरिन्छ। सिद्ध पुरुष संत तसमैया बाबा प्रति श्रद्धाभाव निष्ठा राखेर भजन किर्तन गर्दै झाँकी हेर्दै प्रवचन सुनेर रात बिताइन्छ । 
         भोलिपल्ट चतुर्थिका दिन मृत्खनी सरमा तथा बिरजा (बिगहि) र दुग्धमतिको संगममा स्नान गरेर लक्ष्मी नारायणको पुजा आजा गरि यहाँबाट परिक्रमा गर्दै चार कोष पश्चिम जलेश्वर स्थानमा डोलालाई विश्राम गराइन्छ । यहाँ जलभित्र समाधिष्ट रहेका जलेश्वर नाथ महादेव बिराजमान रहेका छ्न । 

   पंचमिका दिन जलेश्वरमा रहेका विभिन्न धार्मिक तलाउमा स्नान ,अभिशेष गर्दै जलेश्वर नाथ महादेवको दर्शन गरेर भक्तजनहरु डोला संगै परिक्रमा गर्दै यहाँबाट तीन कोष उत्तर मडइ स्थानमा विश्राम गर्दछ्न। भनिन्छ राजा जनकको यज्ञ गर्ने मण्डप र माण्डब्य ऋषिको आश्रम यही थियो ।  माण्डब्य ऋषिको आश्रम यहीँ भएकोले गाउँको नाउँ मडैइ हुन गएको हो । यहाँ प्राचीन पुरातात्त्विक महत्वका शिव मन्दिर रहेको छ। शिवको दर्शन गर्दछन । झाँकी प्रवचन कथा सुन्दै विश्राम गर्दछन।यहाँ गाउँबासीले भक्तजनहरुको भव्यताका साथ अथिती सत्कार गर्दछन ।

षष्ठिका दिन माण्डब्य ऋषिको आश्रम मडइ बाट तीन कोष उत्तर परिक्रमा गर्दै डोला धुर्वले तपस्या गरेको स्थल (तपोभुमी) धुर्व कुण्डमा विश्राम गर्दछ । यहाँ ठूलठूला ऋषि मुनीहरुको तपस्या स्थल रहेको थियो। ऋषि मुनीहरुले आफ्ना साधन स्थल यहीँ बनाएका थिए । जसले गर्दा यसलाई तपोभुमी भनिन थाल्यो । यहाँ भक्त धुर्वजिको मन्दिर बिराजमन छ । यहाँ धुर्व कुण्ड छ । यस स्थल भएर रत्नावती (रातो) नदि बग्दछिन । यहाँका बन जंगलले सौन्दर्यता प्रदान गरिरहेको हुन्थ्यो । अहिले पनि केहि मात्रामा भएपनि बन जंगलहरुले सौन्दर्यता प्रदान गरिरहेका छन ।

फाल्गुन सप्तमिका दिन धुर्व कुण्ड एंव रत्नावती (रातो) मा स्नान गरेर भक्त धुर्वको दर्शन गरे पश्चात् पाँच कोस उत्तर पुर्व परिक्रमा गर्दै डोला भक्तजन सहित कञ्चन बनमा विश्राम गर्न पुग्दछ । परापुर्वकालमा कञ्चन बन बिशाल थियो । यस बिशाल बन भित्र १२ प्रकार का बनहरु थिए । यस अरण्य बन भित्र रहेका कदलि बन ताल बन, तयाल बन अनार बन, केतकी बन, चम्पक बन, कुमुद बन, कदम्ब बन, लवङ्ग बन , सरोज बन, सन्तान बन, भन्रा बन, शृङ्गार बनहरुको शोभायामान क्षेत्रमा ऋषिहरु तपस्यामा समर्पित रहन्थे ।

यस बन भित्र रहेका अनेकौं प्रकारका बोट बिरुवाहरुको फल–फुलहरुको सुवासले वातावरण नै सुवासमय हुन्थ्यो। आन्नदित रमणीय शान्तिमय क्षेत्र थियो। यहि बनमा हजारौं ऋषि मुनीहरु को तपोभूमी रहेको थियो। जहाँ बेला बखतमा ऋषिहरुको सम्मेलन हुने गर्द्थ्यो। उपनिषद्हरुको रचना पनि यसै बन भित्र भएका थियो। भनिन्छ – खुशी भएर राजा जनकले कञ्चन यहीँ लुटाएका थिए रे ! भगवान रामले संगिहरुसंग होलिकोत्सव यहिं ठाउँमा खेलेका थिए ।

रामको इच्छा अनुसार इच्छावति गंगा नदिको उत्पत्ति होलि मनाउनको लागी भएको थियो । यहाँ इच्छावति गंगा र बिरजा गंगाको संगम पनि छ । आज पनि यसको पानीमा रातोपन देखिन्छ । भक्तजन परिक्रमावासिहरु पनि यस स्थलमा भगवान रामले फागु खेलेको मान्यता अनुसार नचारी, भजन किर्तन गित गाएर रात रातभर धुमधामका साथ फागु खेल्दछन । यहाँ अरिकंचनको तरकारी अनिवार्य रुपले परिक्रमा वासिहरु खान्छन् ।

फागुन अष्टमिका दिन यहाँबाट पाँच कोष उत्तर पुर्व परिक्रमा गर्दै श्रीक्षिरेश्वर स्थानमा डोला केही समय बिश्रामको लागी पुग्दछ । यहाँ सिद्ध श्री क्षिरेश्वरनाथ महादेव बिराजमान रहेका छ्न । क्षिरेश्वर सागर एंव जलाधी नदिमा स्नान वा मार्जन गरि श्रीक्षिरेश्वर महादेवको भक्तपुरजनहरुको दर्शन गर्दछन । यहाँबाट सोही दिन पुनः दुई कोष पुर्व दक्षिण परिक्रमा गर्दै पर्वता पुगेर डोलाले विश्राम गर्दछ । परा पुर्वकालमा यहाँ पाँचवटा पहाडको संगम स्थल थियो । जहाँ अहिले कुण्डको रूपमा रहेको छ ।

नवमिका दिन यहाँ रहेको कुण्डमा स्नान गरेर पर्वता मन्दिरको दर्शन पश्चात् यहाँबाट अढाई कोस पुर्वतिर परिक्रमा गर्दै डोला धनुषाधामा विश्राम गर्दछ । यसै स्थलमा धनुष यज्ञ भएको थियो । भगवान रामले शिवका पिनाक धनुष भाँचेका थिए। सोही धनुषको एक टुक्रा धनुषा धाममा पत्थरको रुपमा बिराजमान रहेको छ। धनुष खण्डको एक छेउमा अचम्मको प्राचीन एउटा प्वाल छ । त्यसमा जति दुध पानी भरिदिएता पनि पानी माथिको प्वाल सम्म नै रहिरन्छ।

मिथिला महात्म्यामा उल्लेख भए अनुसार यसको दर्शन गर्दा रामेश्वर धामको दर्शनको फल प्राप्त हुन्छ । त्रेता युगको अवशेष आज पनि यहाँ सुरक्षीत अवस्थामा रहेको छ । बन जंगलहरुले सुशोभित रहेको रमणीय धार्मिक स्थल धनुषा धाममा कुण्ड ,सर,मठ , मन्दिर , नदिहरु आज पनि रहेका छन । तर बन जंगलहरु अतिक्रमणको चपेटामा परेर बिनासिने अवस्थामा पुग्दैछ। यस धनुषा धामको पुर्वतिर बालगंगा नदि बग्दछिन ।

दशमीका दिन धनुषा धाममा रहेका पवित्र धार्मिक सरोबर एंव बालगंगा नदिमा स्नान तथा मार्जन गरेर अवशेषको रुपमा रहेको शिवका पिनाक धनुष लगायत मठ मन्दिरमा दर्शन गरेर भक्तजनहरु डोला संगै धनुषबाट साढे चार कोष दक्षिणमा रहेको सप्तऋषि आश्रम सतोषर पुगेर रात्री विश्राम गर्दछन । यहाँ सप्तऋषिहरुले तपस्या गरेका थिए। यसलाई सप्तऋषिहरुका तपोभुमी पनि भनिन्छ ।

अकास पिण्डमा रहेका सप्तर्षी ताराहरु झैं समान रुपमा यहाँ सातवटा तलाउहरु सात स्थानमा रहेका छ्न । यहाँ याज्ञवल्क्य ऋषिले पनि तपस्या गरेका थिए । याज्ञ्वल्क्य ऋषि नित्य कमलामा स्नान गर्ने गर्थे । यहाँ राम पञ्चायतन, भैरवनाथ , शक्तिपिठ छन । कुशमाहा महादेव कुशेश्वर नाथ बिराजमान छन । धनुषाबाट कमला पुगेर स्नान गरि सतोषर पुग्दा भक्तजनहरुलाई पाँच कोष परिक्रमा गर्नुपर्ने हुन्छ ।

एकादशिका दिन सतोषरवाट पाँच कोष दक्षिण औरही हरसाहा पुगेर डोलाले विश्राम गर्दछ । हर्षमुनि ऋषिले यहिं आश्रम बनाएर बसेका थिए । यी हर्षमुनिको नाउँबाट नै हौरसाह गाउँको सम्बोधन हुन गएको हो । यहाँबाट बिमला नदि बगेकी छिन । बिमला नदिको स्नानलाई महत्वपूर्ण मानिएको छ।रामघाटमा रक्तमाला देवीको पुजा भगवान रामले गरेका थिए । सीता अयोध्या जाँदा यसै स्थानमा रुकेकी थिइन। यस दिन एकादशी तिथि पर्ने भएकोले परिक्रमा गर्ने सबैले एकादशी व्रत गर्दछन। भगवानलाई पुजा पाठ भोग राग गराएर साँझ पख विभिन्न प्रकारका फलफूल परिक्रमा वासिले फलाहार गर्ने गर्छ्न ।

द्ववादशिका दिन अढाई कोस दक्षिण परिक्रमा गर्दै डोला भक्तजनहरुको साथ भारतको बिहार राज्यको करुणामा विश्राम गर्न पुग्छ । यहाँ कौन्डिल ऋषिको आश्रम थियोे । कौन्डिल ऋषिको आश्रमबाट नै यस ठाउँको नाँउ करुणा पर्न गयो । भगवान राम लक्ष्मणको ऋषि विस्वामित्रसंगै जनकपुर धाम पुग्नु भन्दा पुर्व कौन्डिल्य ऋषिका आश्रममा विश्राम भएको थियो । हरिहर बाबाको आश्रम नजिक रहेका राम सर कुण्डमा स्नान गरि पुजा गरेका थिए । भक्तजनहरु स्नान गरेर राम लक्ष्मणका ध्यान जप गर्दछ्न ।

फागुन त्रयोदशिका दिन करुणाबाट पुनः कल्याणेश्वर (कलना) पुगेर महादेवको दर्शन गरेर संकल्प पुरा गरेर त्यहाँबाट अढाई कोष पश्चिम उत्तर भारतको बिसौलमा रात्रि बिश्राम गरिन्छ । यहाँ बिश्वामित्र ऋषिले विश्राम गरेका थिए । बिस्वामित्र ऋषिको संगै राम सिताको भव्य मन्दिर यहाँ रहेको छ । भक्तजनहरु यस दिन यस स्थलमा करि र बेसनको बढी खाने गर्दछन् । फागुन चतुरदर्शिका दिन यहाँबाट छ्व कोष उत्तर जनकपुरधामकालागी डोला प्रस्थान गर्दछ ।

उक्त डोला जनकपुरधामको गंगा सागरको पश्चिममा भक्तजनहरुको दर्शानार्थ राखिन्छ । उक्त दिन गंगा सागरको डिलमा विश्राम गरेर भोलिपल्ट पुर्णिामाका दिन डोला संगै पन्द्र दिने परिक्रमाका भक्तजन अनिवार्य रूपमा अन्तर गृह परिक्रमा अर्थात नगर परिक्रमा गर्द्छ्न र डोलाहरुलाई आ–आफ्ना स्थानमा पुर्याएर पन्द्र दिनको परिक्रमाको समापन गर्छ्न ।

अन्तगृह परिक्रमा :

यो परिक्रमा जुन भक्तजनहरुले अरु परिक्रमा गर्न सकेनन तिनीहरु यो परिक्रमा गर्ने गर्छ्न। यो परिक्रमा गर्दा गंगा सागर लगायत विभिन्न यहाँ रहेका धार्मिक सरहरुमा स्नान वा सेचन गर्दै राम जानकी मन्दिर एंव विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चौकमा पुग्दछन । त्यहाँ एउटा निशानी (पत्थर) राखेर सीतारामको भजन गर्दै मार्गमा पर्ने तलाउ सर कुण्डहरुको सेचन गर्दै मार्गमा रहेका देवी देवताको दर्शन गर्दै अन्तमा पुनः कदम चौकमा पुगेर आफुले राखेको निशानी (पत्थर) हटाए पश्चात् लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गरेर सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ ।

बृहत र मध्यमा परिक्रमा गर्नेहरुले अनिवार्य रुपमा यो अन्तरगृह परिक्रमा गर्ने गर्छन । मिथिलाको परिक्रमा गर्नाले पशुपतिनाथ, मुक्तिक्षेत्र, बैधनाथ धाम, हरिद्वार, द्वारिका, बृन्दावन, मथुरा, प्रयाग, कोसि, बद्री, गंगा, जग्गानाथपुरी, रामेश्वरम, कुरुक्षेत्र आदि क्षेत्रमा वर्षौं गरेका बास, पुजा धर्म कर्मले जुन फल प्राप्त हुन्छ सोही फल प्राप्त हुने जनविश्वास छ ।