एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ७ :
मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यार्थी संख्याको अनुपातमा विद्यालयहरूमा शिक्षक दरबन्दी सिर्जना गर्न संघीय सरकारसँग माग गरेकी छन्।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय, ज्ञानकुपको ११७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले मधेसका अधिकांश विद्यालयमा शिक्षक अभावका कारण शिक्षा क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकेको बताइन्।

उनले मधेसमा शिक्षक–विद्यार्थी अनुपात अत्यन्त असन्तुलित रहेको उल्लेख गर्दै भनिन्, “५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने मान्यता रहे पनि हाल मधेसका विद्यालयहरूमा ११७ विद्यार्थीमा १ शिक्षक मात्र उपलब्ध छन्।”
मन्त्री तिवारीले शिक्षक अभाव समाधानका लागि संघ सरकारले नयाँ दरबन्दी सिर्जना गर्नुपर्नेमा जोड दिँदै, यदि संघ सरकारले दरबन्दी थप गर्न नसक्ने हो भने सो अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताइन्।
उनले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै शिक्षक व्यवस्थापनका लागि आवश्यक पहल गर्न सरकार अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन्। साथै, संघ सरकारले अघि सारेको १०० बुँदे योजनामा शिक्षा सुधारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजय झाले विद्यालयले ११७ वर्षको यात्रामा विभिन्न उतारचढाव पार गर्दै हाल पुनः विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेकोमा खुशी व्यक्त गरे। उनका अनुसार एक समय विद्यार्थी अभाव झेल्दै आएको विद्यालय अहिले समुदाय र अभिभावकको सहयोगले भरिभराउ भई नमूना विद्यालयका रूपमा विकसित भइरहेको छ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले ११ जना उत्कृष्ट छात्रालाई साइकल वितरण गरेको छ। त्यस्तै कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ९ जना छात्रालाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ। साथै, शिशु कक्षादेखि कक्षा १२ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका–८ का वडाध्यक्ष दिनेश सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेल, शिक्षा निर्देशनालय मधेसका निर्देशक महेन्द्र महतो तथा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो।






