एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ :
मधेश सरकारले प्रदेशको सुरक्षा, सार्वजनिक अनुशासन तथा धार्मिक क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। जनकपुरधामस्थित मधेश भवनको सुरक्षा व्यवस्थापनदेखि परिक्रमा क्षेत्रमा मदिरा बिक्री नियन्त्रण तथा सार्वजनिक स्थलमा डीजे सञ्चालनमाथि कडाइ गर्ने निर्णय गरिएको हो।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयको अगुवाइमा बसेको बैठकले मधेश भवनको सुरक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउन १५ दिनभित्र कार्यविधिको मस्यौदा तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ। उक्त कार्यविधिमा भवनभित्र प्रवेश व्यवस्था, निगरानी प्रणाली, सुरक्षा समन्वय तथा आपतकालीन व्यवस्थापनसम्बन्धी मापदण्ड समावेश गरिने जनाइएको छ।

बैठकले मधेश भवन परिसरको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दैनिक सरसफाइको जिम्मेवारी ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिने निर्णय गरेको छ। सरसफाइको नियमित अनुगमनसमेत गरिने गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जानकारी दिए।
त्यसैगरी, कर्मचारी आवास क्षेत्रमा अनधिकृत रूपमा बसोवास गरिरहेका व्यक्तिहरूमाथि निगरानी बढाउने निर्णय पनि गरिएको छ। गुठी जग्गा अतिक्रमण रोक्न विशेष सक्रियता अपनाइने भएको छ। गुठी जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भेटिए कानुनी कारबाही अगाडि बढाउने तथा दीर्घकालीन व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना तयार गर्न गुठी संस्थान शाखा कार्यालय जनकपुरधामलाई निर्देशन दिइएको मन्त्री महतोले बताए।
यसैबीच, सार्वजनिक स्थलमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न डीजे लगायत उच्च आवाज निकाल्ने बाजामाथि नियन्त्रण अभियान सञ्चालन गरिने सरकारको निर्णय छ। साथै परिक्रमा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै मदिरा बिक्री तथा वितरणलाई व्यवस्थित र नियन्त्रण गर्न आवश्यक पहल गरिने जनाइएको छ।
सरकारका यी निर्णयहरू प्रदेशमा सुरक्षा, स्वच्छता, सार्वजनिक अनुशासन तथा धार्मिक वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको बताइएको छ।





