एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ :
महोत्तरीको गौशाला नगरपालिका ३ स्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनमा गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतो, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। मन्त्री महतोसहितको टोलीले गौशालाको वर्तमान अवस्था, व्यवस्थापन प्रणाली तथा सञ्चालनका क्रममा देखिएका समस्याबारे स्थलगत अवलोकन गरेको थियो।

निरीक्षणका क्रममा गौशालाको व्यवस्थापन, पशु संरक्षण, पूर्वाधार विकास तथा स्थानीय तहमा देखिएका समसामयिक चुनौतीका विषयमा छलफल गरिएको मन्त्री महतोले जानकारी दिए। उनले गौशालाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सीसीटिभी क्यामेरा जडान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
अनुगमनका क्रममा उठाइएका समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको बताइएको छ। सहभागीहरूले गौशालाको संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर पहल आवश्यक रहेकोमा जोड दिएका ।





