एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १८ :
आगामी आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा नयाँ कमला पुल निर्माणका लागि रकम विनियोजन नभएपछि नयाँ कमला पुल निर्माण संघर्ष समिति पुनः आन्दोलनमा उत्रिएको छ।
समितिले सोमबार मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाउँदै पुल निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेको हो। यस क्रममा संघर्ष समितिका सदस्यहरूले प्रदेशसभा परिसरमा विरोध प्रदर्शन गर्दै संघीय सरकारले पूर्व सहमतिविपरीत बजेट व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले संघीय सरकारसँग भएको समझदारीअनुसार पुल निर्माणका लागि बजेट सुनिश्चित हुने अपेक्षा गरिएको भए पनि बजेटमा कुनै रकम विनियोजन नगरिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
उनका अनुसार संघर्ष समिति र मधेश प्रदेश सरकारबीच यसअघि भएको सहमतिअनुसार आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमार्फत आवश्यक रकम उपलब्ध गराउन पहल गर्ने समझदारी भएको थियो। साथै, संघीय सरकारले बजेट उपलब्ध नगराए मधेश प्रदेश सरकारले आफ्नै स्रोतबाट पुल निर्माणको सम्पूर्ण लागत व्यहोर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बोलपत्र आह्वान गर्ने सहमति पनि भएको थियो।
तर संघीय बजेटमा पुल निर्माणका लागि कुनै व्यवस्था नगरिएपछि प्रदेश सरकारलाई आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिन प्रदेशसभामार्फत ध्यानाकर्षण गराइएको संयोजक यादवले बताए।
सभामुख यादवलाई बुझाइएको ज्ञापनपत्रमा संघीय सरकारले बजेट नदिएको अवस्थामा मधेश प्रदेश सरकारले आफ्नै स्रोतबाट आवश्यक बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ। मागप्रति बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि संघर्ष समितिले दिएको छ।
सिरहा र धनुषा जिल्लालाई जोड्ने प्रस्तावित नयाँ कमला पुल वर्षौंदेखि स्थानीयवासीको प्रमुख मागका रूपमा रहँदै आएको छ। पुल निर्माण सम्पन्न भए दुई जिल्लाबीचको आवागमन सहज हुनुका साथै आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने स्थानीयवासीको विश्वास छ।
संघर्ष समितिले अब आश्वासनभन्दा बढी कामको सुरुवात आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई शीघ्र निर्णय गरी निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।





