एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ :
जनकपुरधाममा ट्राफिक व्यवस्थापन महाशाखाको आयोजनामा जिल्ला यातायात व्यवस्थापन समिति तथा विभिन्न सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, ट्राफिक नियम उल्लंघन तथा सडक सुरक्षासम्बन्धी चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
अन्तरक्रियामा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सवारी चालकलाई लाइसेन्स र बीमाले सुरक्षित बनाउने बताउँदै जनकपुरधाममा इ–रिक्साको संख्या बढी भएकाले सबै चालकलाई लाइसेन्स प्राप्त गरी बीमा गरेर मात्र सवारी सञ्चालन गर्न आग्रह गर्नुभयो।

नगरप्रमुख साहले धेरै इ–रिक्सा चालक साक्षर नभएकाले उनीहरूको रोजीरोटी प्रभावित नहुने गरी लाइसेन्स परीक्षामा लिखितको सट्टा मौखिक परीक्षाको व्यवस्था गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले सडक सुरक्षा सुदृढीकरणका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट प्रतिबद्धता पत्र जारी गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार कानून कार्यान्वयन, सडक पूर्वाधार सुधार, चालक व्यवस्थापन तथा सवारी साधनको नियमनसम्बन्धी विषय समेटेर उक्त प्रतिबद्धता पत्र तयार गरिनेछ।
कार्यक्रममा सहभागीहरूले सुरक्षित, व्यवस्थित र प्रभावकारी यातायात व्यवस्थापनका लागि सम्बन्धित निकायहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।