एसपि रिपोर्टर
काठमाणडौं , जेठ ३१
: भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स भेटिएको छ।

अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १:३८ बजे उडान भरेको जहाज मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो।दुर्घटनास्थलबाट २८ घन्टापछि शुक्रबार अपराह्न जहाजको ब्ल्याक बक्स भेटिएको विमान दुर्घटना अनुसन्धान ब्युरोले जनाएको छ।ब्युरोका अधिकारी राममोहन नायडू किन्जारापुले समाचार संस्था एशोशियटेड प्रेसलाई बताएअनुसार दुर्घटनाग्रस्त जहाजको दुईवटा ब्ल्याक बक्स भेटिएको हो।ब्ल्याक बक्स भेटिएपछि जहाज दुर्घटनाको अनुसन्धानमा सहज हुने उनले बताएका छन्।दुईमध्ये एउटा ब्ल्याक बक्सले प्राविधिक विवरणहरु; उचाई र गतिको विवरण दिन्छ भने अर्कोले ककपिटमा आवाज रेकर्ड गर्छ। ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाअघि पाइलटले  के भनेका थिए भनेर खुल्नेछ। त्यसबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।बिहीबार दिउँसो लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको उक्त जहाज अहमदाबाट उडेको एक मिनेट नबित्दै दुर्घटनामा परेको थियो।विमानले उचाइ लिन नसक्दा मेघनीनगरको एउटा आवासीय भवनमा खसेको थियो। उक्त भवन बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टल हो। विमान खस्दा त्यहाँका १९ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको बताइएको छ।विमानमा सवार २४२ मध्ये १४१ जनाको मृत्यु भएको छ।जसमा १५९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानाडेली छन्।दुर्घटनामा एक यात्रु भने जिवित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।जिवित भेटिएका यात्रु बेलायती नागरिक  ४० वर्षीय विश्वासकुमार रमेश छन्। उनको उपचार भइरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अस्पताल पुगेर रमेशलाई भेटेका थिए।