एसपि रिपोर्टर
दमस्कस, बैशाख ३१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । मंगलबार उनले सिरियाको नयाँ सरकारसँगको सम्बन्ध सामान्य बनाउने र देशलाई शान्ति स्थापना गर्ने मौका दिन उसमाथि लगाइएको प्रतिबन्धहरू हटाउने बताएका हुन् ।
ट्रम्पले बुधबार सिरियाली राष्ट्रपति अहमद अल–शारालाई भेट्ने कार्यक्रम रहेको ह्वाइट हाउसले भनेको थियो । गत वर्ष शारा नेतृत्वको हयात तहरीर अल–शाम (एचटीएस)समेतको विद्रोही समूह मिलेर बसर अल असदको अढाई दशक लामो शासन अन्त्य गरेका थिए । मेलमिलापको प्रयास साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आग्रहमा गरिएको ट्रम्पले भनेका छन् । सिरियाको नयाँ सरकारको सफलताको आशा व्यक्त गर्दै उनले शुभकामना समेत दिएका थिए । पछिल्लो घटनाक्रम शाराको लागि ठुलो प्रोत्साहन हो । सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमा भएको आक्रमणपछि भएको विद्रोहमा उनको भूमिकाको लागि उनलाई जेल सजाय सुनाइएको थियो । शारालाई जनवरी २०२५ मा सिरियाको राष्ट्रपति नियुक्त गरिएको थियो । एचटीएसको नेतृत्वका विद्रोहीहरूले दमास्कस कब्जा गरेर असद परिवारको ५४ वर्षदेखिको शासन समाप्त गरेका थिए । अमेरिकाले गत वर्ष डिसेम्बरदेखि शारासँग नयाँ सम्बन्ध गाँस्नेबारे विचार गरिरहेको छ । खाडी देशका नेताहरूले पनि सिरियाको नयाँ सरकारलाई समर्थन गरिरहेका छन् । ट्रम्पले पनि त्यसै गरून् भन्ने उनीहरू चाहन्छन् । तिनीहरू सिरियालाई इरानविरुद्ध बलियो खम्बाको रूपमा स्थापित गर्न चाहन्छन् । इरानले दशक लामो गृहयुद्धमा सिरियाको असद सरकारलाई समर्थन गरेको थियो ।





