एसपि रिपोर्टर
एजेन्सी, बैशाख ३० : भारतको पन्जाबका प्रहरी अधिकारीहरूले अमृतसर जिल्लामा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु भएको बताएका छन् । साथै बिरामी ६ जनालाई अस्पतालमा भर्ना गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
यो घटना अमृतसरको मजिठामा भएको हो । अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारहरूसँग भनेका छन्, ‘हामीलाई हिजो राति ९ः३० बजेतिर जानकारी प्राप्त भयो कि यहाँ नक्कली मदिरा पिएपछि मानिसहरू मर्न थालेका छन् । हामीले तुरुन्तै कारबाही ग¥यौँ र मुख्य आपूर्तिकर्ता परबजित सिंहसहित ४ जनालाई पक्राउ ग¥यौँ ।’उनले थपे, ‘१४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँमा भएको हो ।’ एसएसपीका अनुसार पन्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ ।अमृतसरका उपायुक्त साक्षी एसले यी पाँच गाउँमा चिकित्सा टोलीहरू घर–घरमा खटाइएको बताइन् । उनले भनिन्, ‘हामी थप ज्यान नगुमाउन सुनिश्चित गर्न प्रयासरत छौँ । सरकारले सबै सम्भव सहयोग प्रदान गरिरहेको छ ।’





