एसपी रिपोर्टर
नयाँ दिल्ली, बैशाख १९ : शुक्रबार बिहान दिल्ली र एनसीआर क्षेत्रमा परेको भारी वर्षा र आँधीबेहरीले जनजीवन प्रभावित भएको छ। वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार, घटनास्थलमा उद्धार कार्य जारी छ।
वर्षाले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा पनि असर परेको छ। तेज हावा र खराब मौसमका कारण तीन उडानहरू डाइभर्ट गरिएको र १०० भन्दा बढी उडान ढिलाइ भएको पीटीआईले जनाएको छ। डाइभर्ट गरिएका उडानहरूमध्ये दुई जयपुर र एक अहमदाबादतर्फ मोडिएको अधिकारीहरूले बताएका छन्।दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेड (DIAL) को आधिकारिक एक्स (पूर्व ट्विटर) खाताबाट जारी गरिएको पछिल्लो सूचना अनुसार, विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहे पनि केही उडानहरूमा ढिलाइ भएको छ।
यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।


