एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : नेपाल सरकारका पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारत विहार मुज्जपरपुरका लोकसभा सदस्य अजय निषाद विच भारतको मुज्जपरपुरमा भेटवार्ता भएको छ । गत आइतवार धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सिमावर्ती वडाहरुमा निर्माण कार्य अवरुद्व पुलहरुको स्थलगत निरिक्षण अवलोकन गरेका निधी सो विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुज्जपरपुर पुगेका हुन ।

सो क्रममा निधीले आफु पुलहरुको स्थलगत निरिक्षण गर्दा एसएसबीका जवानहरुले नो म्यान्स ल्याडमा संरचना बन्न नदिने माथीको निर्देशनका कारण मात्र आफुहरु रोकेको नभए पुल बन्दा आफुहरुलाई कुनै अप्ठेरो नहुने र दुवै तर्फको जनतालाई फाइदा हुने बताएको निषादलाई सुनाएका थिए । नो म्यान्स ल्याडमा पुल नबने दुई देशका जनतालाई कसरी जोडने ? र आवातजावत कसरी हुने ? प्रश्न गर्दै निधीले आफुहरु नेपालको मात्र नभई सिमावर्ती भारत तर्फको जनताको भावना पनि सुनाउन आएको बताए ।
हेर्नोस श्रब्यदृश्य समाचार
प्रतिउत्तरमा भाजपाका नेता समेत रहेका निषादले आफनो पार्टीको नेतृत्वमा केन्द्रिय सरकार समेत रहेको बताउदै गृहमन्त्री अमित साह संग कुरा गरेर समस्या समाधान गर्ने बताए । मैले समस्याको बारेमा भारतका सिमावर्ती पत्रकारहरु संग पनि बुझेको छु उनले भने, ‘यो गृहमन्त्रालय संग सम्बन्धित विषय हो, म अमित साह जी संग व्यक्तिगत भेटेर यो समस्या समाधान गर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।’

निषाद निवास पुगेका निधी नेतृत्वको नेपाली टोलीलाई भव्य स्वागत र सत्कार गरिएको थियो भने राम मन्दिर समुदघाटनको बधाई पत्र र प्रसाद प्रदान गरिएको थियो भने निधी दम्पतीले सांसद निषादलाई कोशेली सहितको भार उपहार स्वरुप दिएका थिए । सो अवसरमा स्थानिय पत्रकारहरुको संस्था मिडिया फोर बोर्डर हार्मोनीका अगुवा पत्रकार अमरेन्द्र तिवारी सहितका करिव एक दर्जन पत्रकारहरु नेपाल भारतको सिमावर्ती समस्या समाधानका लागि आफुहरु पुलको काम गर्न तत्पर रहेको बताए ।

निधीको टोलीमा जनकपुरधामका सञ्चारकर्मी, सडक विभागका प्राविधिक र विज्ञ, नगराईन नगरपालिकाका मेयर बिनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जयकुमार यादव, युवा अगुवाहरु सहितको उपस्थिती थियो ।

गत आइतवार बेलुकी निधी नेतृत्वको टिम मुखियापट्टी मुसहरनिया गाँउपालिकाको वडा नं. २ स्थित जमुनी नदीको अखरहैर घाट र सोहि पालिकाको वडा नं. ५ बैरियाटोल स्थित जमुनी नदीको थल्ही घाट स्थित निर्माणाधिन पुलको निरिक्षण गरेका छन् । सो क्रममा नेपाल सरकार पक्षका सम्बन्धित ईन्जिनियर, स्थानिय सर्वसाधारणका साथै भारतीय सुरक्षाकर्मी र स्थानिय संग पनि पुल निर्माण बारे जानकारी लिइएको थियो ।

साथै आइतवारनै नेपालको जटही र भारतको पिपरौन जोडने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडक स्तरको पुलका रुपमा स्तरोन्तीका लागि भारतिय पक्षबाट भइरहेको अवरोध र नगराईन नगरपालिकाको वडा नं. ६ लगमालाई भारतको लहरनियासंग जोडने झुलुङ्गे पुलको समेत निधी नेतृत्वको टिम अवलोकन गर्दै सबै पक्षवाट यर्थात बुझेका थिए । सो पुलहरु भारतिय अवरोधका कारण निर्माण अवरुद्व भएको अवस्था छ ।