एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाए । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए । डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ ।
‘डब्लुएचओले चिकित्सा विशेषज्ञहरुलाई चीनमा पठाएर धरातलीय यथार्थ मूल्यांकन गरी वास्तविक अवस्था सार्वजनिक गरेको भए धेरै जनाको ज्यान जोगिन सक्थ्यो र आर्थिक क्षतिबाट पनि विश्वलाई जोगाउन सकिन्थ्यो । यसको सट्टा डब्लुएचओले चीन सरकारले गरेको कामको बचाउ गर्यो ।’ ट्रम्पको तर्क छ । यसअघि ट्रम्पले नै कोरोना भाइरस नियन्त्रणका लागि राम्रो काम गरेको भन्दै चीनको प्रशंसा गरेका थिए । उनले राष्ट्रपति सी चिनफिङलाई फोन गरेर धन्यवाद समेत दिएका थिए । यो टेलिफोन वार्तालाई धेरैले अमेरिका र चीनबीच सम्बन्ध सुधारको संकेतको रुपमा ब्याख्या गरेका थिए ।
महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह
यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।