एसपी रिपोर्टर
अष्ट्रेलिया, जेष्ठ २५ :
गैर–आवासीय नेपाली संघ अष्ट्रेलियाको (एनआरएनए) चुनाव नजिकिदै गर्दा अष्ट्रेलियाको राजधानी क्यानवेरामा चुनावि चहलपहल बढेको छ । आउदो अगष्ट महिनाको २८ तारिकमा प्रस्तावित चुनावको लागि क्यानवेरामा युवाहरुको चहलपहल बढेको हो ।

क्यानवेराको फिलिपमा भएको युवाहरुको भेलामा आउदो चुनावमा एनआरएनएमा युवाहरुको सक्रियता र सहभागिता बढाउने विषयमा छलफल भएको थियो । छलफलमा क्यानवेरा र क्विनविन शहरमा सक्रिय नेपालीहरुको विभिन्न खेलकुद क्लव र सामाजिक संस्थामा सक्रिय युवाहरुको सहभागिता रहेको थियो ।

एनआरएनए सदस्य ललित मल्लको अध्यक्षतामा बसेको भेलामा युवाहरुले एनआरएनए पदाधिकारीहरु प्रति गुनासो गर्दै अबको चुनावमा युवाहरुलाई नेतृत्वदायी भुमिकामा आउनु पर्ने र गैर–आवासिय नेपालीहरुको क्षमता अभिवृद्धिका लागि एनआरएनए पदाधिकारीले विशेष कार्यक्रम ल्याउनु पर्ने विचार राखेका थिए ।

भेलामा रोयल नेप्लिज क्यानवेरा फुटबल क्लवका अध्यक्ष शुशिल पोखरेलले एनआरएनएलाई अझै प्रभावकारी बनाउन क्यानवेरमा बसोबास गरिरहेका हरेक नेपालीलाई सदस्य बन्न र चुनावमा सक्रियता पुर्वक सहभागिता जनाउन आग्रह गरेका थिए ।

जुलाई ३१ तारिखमा चुनाव गर्ने तयारी भएपनि केही कारणले एनआरएन अष्ट्रेलियाको बोर्ड बैठकले आगामी अगष्ट २८ तारिखमा निर्वाचन गर्ने प्रस्ताव आईसीसीमा पठाएको छ । त्यस्तै, जुन महिनाको १० तारिख सम्म सदस्यता नवीकरण गर्ने मिति तोकिएको भएपनि यसलाई १६ दिन बढाएर जुन २७ तारिख सम्म तोकिएको छ ।