एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले यस वर्षको छठ पर्व जनकपुरधाममा मनाउने भएका छन् । उनीहरू छठका सम्पूर्ण धार्मिक विधि जनकपुरधाममै बसेर सम्पन्न गर्ने तयारीमा छन् ।
रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछाने दम्पती छठ मनाउन जनकपुरधाम आउने जानकारी दिएका हुन् । उनका अनुसार लामिछाने दम्पती कुनै पार्टी नेता वा कार्यकर्ताको नभई स्थानीय सर्वसाधारणको घरमा बसेर पर्व मनाउनेछन् ।
उनीहरूले जनकपुरधामस्थित गंगासागर पोखरीको घाटमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रम रहेको सांसद झाले बताए । घाटमा श्रद्धालुको भीड हुने भएकाले उनीहरूको आगमन समय सोहीअनुसार मिलाइने उनले जानकारी दिए ।
झाका अनुसार लामिछानेको जनकपुरधाम बसाइ राजनीतिक भेटघाटभन्दा छठ पर्व र धार्मिक अनुष्ठानमा केन्द्रित रहनेछ । यस क्रममा यहाँका विभिन्न पोखरी तथा धार्मिक स्थलहरूको महत्त्वबारे पनि उनलाई जानकारी गराइनेछ ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह पनि छठका अवसरमा जनकपुरधाम आउने चर्चा भइरहेका बेला झाले त्यसबारे शुक्रबार बिहान मात्रै यकिन जानकारी दिन सकिने बताए । औपचारिक जानकारी नआएसम्म प्रधानमन्त्रीको आगमनबारे स्पष्ट भन्न नसकिने उनको भनाइ छ ।
जनकपुरधामका विभिन्न पोखरी तथा छठ घाटमा पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार नहाय–खाय, शनिबार खरना, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व सम्पन्न हुनेछ ।


