एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ :
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या तत्कालीन सुधारसँगै नीति, कानुन र संरचनागत सुधारमार्फत दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।
बुधबार जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको सभामा सहभागी हुँदै मन्त्री पोखरेलले मधेसको शिक्षा क्षेत्र पछाडि परेको विषयमा आवाज उठ्दै आए पनि अपेक्षित सुधार हुन नसकेको बताए । सरकारले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
विद्यालय शिक्षाका समस्या समाधानका लागि शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षि जनक विश्वविद्यालयलाई आग्रह गरे ।
विश्वविद्यालय शिक्षणमा मात्र सीमित नभई शिक्षा क्षेत्रका समस्या पहिचान, अध्ययन, अनुसन्धान र नीतिगत सुझाव दिने कार्यमा केन्द्रित हुनुपर्ने उनले बताए । मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेशमै गुणस्तरीय उच्च शिक्षाको वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।
मन्त्री पोखरेलले विद्यालयदेखि विश्वविद्यालयसम्म आवश्यक पूर्वाधार, लगानी र शैक्षिक सुधारलाई प्राथमिकता दिँदै मधेसको शिक्षा क्षेत्रको समग्र सुधारका लागि सरकार अघि बढ्ने बताए । राजर्षि जनक विश्वविद्यालयको भवन तथा भौतिक संरचना निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले उपलब्ध स्रोतअनुसार पूर्वाधार र प्रशासनिक व्यवस्थापनका काम अघि बढाइने बताए ।
शीर्षकहरू

