एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) मधेश प्रदेशको प्रादेशिक शिखर सम्मेलनले विद्यालयका जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन पहल गर्नेदेखि प्रधानाध्यापकको पेशागत क्षमता अभिवृद्धि, डिजिटल स्रोत पोर्टल निर्माण, विज्ञान प्रदर्शनी तथा संगठन विस्तारसम्मका १४ वटा निर्णय गरेको छ ।
वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा असोज १७ र १८ गते सम्पन्न सम्मेलनको बन्द सत्रले विद्यालय नेतृत्व, संस्थागत विकास, संगठन सुदृढीकरण र शैक्षिक नवप्रवर्तनसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल गरी सर्वसम्मत रूपमा निर्णय गरेको पान मधेश प्रदेशले जनाएको छ ।
बन्द सत्रले पान मधेश प्रदेशले जारी गरेको प्रदेशस्तरीय पुरस्कार, मूल्याङ्कन तथा सम्मान निर्देशिका २०८३ अनुमोदन गरेको छ । निर्देशिकाअनुसार विद्यालय नेतृत्व तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिको मूल्याङ्कन तथा सम्मान कार्यक्रम सञ्चालन गरिनेछ । साथै असोज १७ र १८ गते सम्पन्न प्रदेश सम्मेलनलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ ।

पानको विधान संशोधनका लागि आगामी तेस्रो राष्ट्रिय सभालाई लक्षित गरी स्थानीय, जिल्ला र प्रदेश तहबाट लिखित सुझाव संकलन गर्ने निर्णय भएको छ । प्रदेश समितिले प्राप्त सुझावलाई एकीकृत गरी केन्द्रीय समितिमा पठाउनेछ ।
सरकारी वा सार्वजनिक जग्गामा लामो समयदेखि सञ्चालनमा रहेका तर जग्गाधनी प्रमाणपुर्जा नभएका विद्यालयलाई आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपुर्जा उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा निकायसँग पहल गर्ने निर्णयसमेत भएको छ ।
त्यस्तै, पानको तेस्रो राष्ट्रिय सभा जनकपुरधाममा आयोजना गर्न आवश्यक समन्वय, स्थान र व्यवस्थापनका विषयमा पहल तथा सहकार्य गर्ने निर्णय गरिएको छ । सम्मेलनले पान मधेश प्रदेशका तत्कालीन अध्यक्ष सञ्जयकुमार झालाई केन्द्रीय पदाधिकारीका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
प्रदेश कार्यसमितिलाई नयाँ जिम्मेवारी र रिक्तताअनुसार पुनर्गठन गर्ने निर्णय पनि गरिएको छ । पुनर्गठनपछि प्रदेश अध्यक्ष, उपाध्यक्ष, संगठन, कोषाध्यक्ष तथा सहकोषाध्यक्षलगायत पदमा जिम्मेवारी तोकिनेछ ।
शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै प्रधानाध्यापकका लागि नमुना, शैक्षिक सामग्री, नेतृत्वसम्बन्धी स्रोत तथा अनुभव आदानप्रदानको सुविधा उपलब्ध गराउने उद्देश्यले ‘पान मधेश डिजिटल स्रोत पोर्टल’ निर्माण गर्ने निर्णय भएको छ ।
विद्यार्थीको विज्ञान, प्रविधि तथा डिजिटल सीप प्रदर्शन र प्रयोगलाई प्रोत्साहन गर्न प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा डिजिटल मेला आयोजना गरिनेछ । प्रधानाध्यापकको शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन तथा पेशागत क्षमता विकासका लागि प्रदेश र जिल्ला तहमा नियमित कार्यशाला सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
विद्यालयको पूर्वाधार विकासका लागि सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी आवश्यक कार्यक्रम अघि बढाउने तथा पानको संगठनलाई केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने निर्णय भएको छ । सदस्यता वृद्धि र विभिन्न तहका कार्यसमितिबीचको समन्वयलाई थप सुदृढ बनाउने निर्णयसमेत गरिएको छ ।
त्यस्तै, पानको सदस्यता लिएका तर प्रमाणीकरण हुन बाँकी सदस्यको अभिलेख अद्यावधिक गरी प्रमाणपत्र उपलब्ध गराउने निर्णय भएको छ । प्रधानाध्यापकको सिकाइ तथा नेतृत्व अनुभव विस्तारका लागि अन्य देशका प्रधानाध्यापक संघ–संस्थासँग सहकार्य गरी समय–समयमा वैदेशिक अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
सम्मेलनबाट पारित निर्णय कार्यान्वयनका लागि संघ, प्रदेश तथा स्थानीय सरकार, शिक्षा क्षेत्रका निकाय, विद्यालय, विश्वविद्यालय, निजी तथा सामाजिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय गर्ने पान मधेश प्रदेशले जनाएको छ । निर्णयको प्रगति प्रदेश कार्यसमितिले नियमित रूपमा समीक्षा गर्ने बताइएको छ ।
सम्मेलनले प्रधानाध्यापकलाई विद्यालयको प्रमुख शैक्षिक नेतृत्वकर्ताका रूपमा स्थापित गर्दै गुणस्तरीय, समावेशी र जीवनोपयोगी शिक्षाका लागि साझा प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

