एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै युवाहरूले जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेका छन्।
स्वास्थ्य क्षेत्र सुधारका लागि आफूहरूले अघि सारेका माग सम्बोधन गर्न प्रदेश सरकार तयार नरहेको आरोप लगाउँदै मधेश युवा सञ्जालले सोमबार जनकपुरधामस्थित जनक चोकमा मशाल जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा युवाहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
सञ्जालले गत भदौ ३० गते स्वास्थ्य क्षेत्र सुधारका लागि १३ बुँदे मागसहित प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्र माग सम्बोधनको प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो। तर, तोकिएको समयसीमा सकिँदासमेत सरकारले ठोस निर्णय वा कार्ययोजना सार्वजनिक नगरेको सञ्जालको आरोप छ।
माग सम्बोधनमा सरकार उदासीन बनेको भन्दै दबाबस्वरूप मशाल जुलुस प्रदर्शन गरिएको सञ्जालले जनाएको छ।
युवाहरूले प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिरै सुत्केरी हुनुपरेको भनिएको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु भएको भनिएको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
स्वास्थ्य सेवामा देखिएका समस्या तत्काल समाधान गर्दै अस्पतालहरूको सेवा, व्यवस्थापन र जवाफदेहिता सुधार गर्न प्रदेश सरकारलाई दबाब दिन प्रदर्शन गरिएको युवाहरूको भनाइ छ।

