एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ :
प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्व सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा सातै प्रदेशबाट १ हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रधानाध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष सुदाम गौतमले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच सहकार्य बढाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए। सम्मेलनबाट विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता र आगामी कार्यदिशा तय गरिने उनले बताए।
प्रधानाध्यापक संघ नेपाल मधेशका अध्यक्ष सञ्जय झाले संघ राजनीतिक संगठन नभएकाले अधिकारका विषयभन्दा सामुदायिक हित र विद्यालय शिक्षासँग सम्बन्धित विषयमा सम्मेलनमा छलफल गरिने बताए।
सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकार कार्यान्वयनलगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ। सम्मेलनबाट संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिनेछ।
सम्मेलनमा सातै प्रदेशबाट उत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गरिनेछ। शिक्षा क्षेत्रलाई प्राथमिकता दिने स्थानीय तहलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
त्यस्तै, शिक्षा पत्रकारितामा योगदान पुर्याउने दुई जना सञ्चारकर्मी तथा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ।

