एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ :
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रदान गरिने सरकारी छात्रवृत्तिमा विभेद नगर्न मधेश प्रदेश सरकारसँग माग गरेको छ।
एनप्याब्सन मधेशका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहाको नेतृत्वमा गएको टोलीले शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहलाई ध्यानाकर्षणपत्र बुझाउँदै छात्रवृत्ति नीतिमा सुधार गर्न माग गरेको हो।
एनप्याब्सनले छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीले अध्ययन गरेको विद्यालय सरकारी वा संस्थागत भन्ने आधार बनाउन नहुने जनाएको छ। विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक तथा सामाजिक अवस्था र अध्ययन गर्न चाहेको विषयका आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उसको माग छ।
संस्थागत विद्यालयले विद्यालय तहमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आए पनि त्यहाँबाट एसईई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षाको सरकारी छात्रवृत्तिबाट वञ्चित गर्ने व्यवस्था रहेको भन्दै एनप्याब्सनले त्यसको पुनरावलोकन माग गरेको हो।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिंहले सम्बन्धित पक्षसँग समन्वय गरी उठाइएका विषय सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।