एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ :
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) का आन्दोलनरत विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग अतिथि सत्कार, खाना–नास्तालगायत विभिन्न शीर्षकमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूले क्याम्पसको आय–व्यय पारदर्शी बनाउन र आर्थिक कारोबारबारे स्पष्ट जानकारी दिन माग गरेका हुन्। माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन्।
राराब स्ववियुका पूर्वसभापति मनिष यादवले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणसम्बन्धी टीडीएस विवरणमा निर्मला श्रेष्ठको नाममा ४० लाख ८५ हजार ६ सय ६५ रुपैयाँ र शारदा देवी लामिछानेको नाममा ८ हजार ६ सय रुपैयाँ भुक्तानी भएको देखिएको दाबी गरे। उक्त रकम कुन प्रयोजनमा खर्च भएको हो भन्नेबारे प्रशासनले स्पष्ट पार्नुपर्ने उनको माग छ।
विद्यार्थी रञ्जित मण्डलले क्याम्पसबाट कस्मेटिक पसलमा समेत भुक्तानी भएको दाबी गर्दै त्यसको औचित्यमाथि प्रश्न उठाए। उनले कर्मचारी र ठेकेदारबीच मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोपसमेत लगाए।
विद्यार्थीहरूले सम्पूर्ण आय–व्यय सार्वजनिक गर्नुपर्ने, आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने, स्मार्ट कक्षाकोठा तथा स्मार्ट पुस्तकालय निर्माण गर्नुपर्ने र नियमित कक्षा सञ्चालन गर्नुपर्ने माग गरेका छन्।