एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ :
मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि १५ दिने अल्टिमेटम दिए पनि प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै मधेश युवा सञ्जालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको राजीनामा माग गरेको छ।
सञ्जालमा आबद्ध युवाहरूले बिहीबार मधेस भवनअगाडि प्रदर्शन गर्दै स्वास्थ्य क्षेत्रका समस्या तत्काल समाधान गर्न प्रदेश सरकारसँग माग गरे। गत भदौ ३० गते १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको सञ्जालले १५ दिनको समयसीमा सकिँदासमेत मन्त्रालयले ठोस निर्णय वा कार्ययोजना सार्वजनिक नगरेको जनाएको छ।
युवा सञ्जालका किसन साहले ज्ञापनपत्रबारे समेत मन्त्रीले अनभिज्ञता प्रकट गरेको भन्दै माग सम्बोधनका विषयमा मन्त्रालयबाट स्पष्ट जवाफ नआएकाले आन्दोलनमा उत्रिनुपरेको बताए।
सञ्जालले प्रदेशका स्वास्थ्य संस्थामा देखिएका समस्या र विभिन्न घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनअनुसार कारबाही गर्न माग गरेको छ। माग सम्बोधन नभए आन्दोलन थप प्रभावकारी बनाउने चेतावनीसमेत सञ्जालले दिएको छ।