एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ :
जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको रामजानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
नेपाल सरकारले गत भदौ १३ गते रामजानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपछि विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए।
उनका अनुसार सूचीकृतका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ। समाजका अगुवा तथा सम्बन्धित पक्षसँग सुझाव लिएर प्रतिवेदनलाई अन्तिम रूप दिई युनेस्कोमा दर्ता गराउने योजना छ। प्रतिवेदन तयार पार्न नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ।
संरक्षित स्मारक क्षेत्रभित्र पर्ने मन्दिर, सरोवरलगायत ऐतिहासिक स्थलको सर्वेक्षण गरी अभिलेखीकरण गरिने पुरातत्वविद् रामबाबु दहालले बताए। संरक्षित क्षेत्रभित्र हुने निर्माण तथा पुनर्निर्माणका कामलाई ऐतिहासिक संरचनाको स्वरूपमा असर नपर्ने गरी व्यवस्थित गर्नुपर्नेमा छलफलमा जोड दिइएको थियो।
छलफलमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, राम मन्दिरका महन्थ राम गिरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, बृहत्तर क्षेत्र विकास परिषद्का पदाधिकारी तथा वडाध्यक्षहरूको सहभागिता थियो।

