एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ :
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको जग्गाको लालपुर्जा नहुँदा संघीय सरकारबाट भौतिक संरचना निर्माणका लागि प्राप्त हुने भनिएको ६ करोड रुपैयाँ बजेट कार्यान्वयनमा समस्या देखिएको छ।
विद्यालयका प्रधानाध्यापक सञ्जय झाले जग्गासम्बन्धी पुराना अभिलेख तथा निर्णय भए पनि गुठी संस्थानबाट विद्यालयको नाममा लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढ्न नसकेको बताए। उनका अनुसार लालपुर्जा नहुँदा निर्माणका लागि टेण्डर प्रक्रिया समेत अघि बढ्न सकेको छैन।
झाले गुठी संस्थानले विद्यालयमा अध्ययनरत ६५ जना बटुकको खानाका लागि समेत पर्याप्त बजेट उपलब्ध नगराएको बताए।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले पुराना श्रेष्तामा जग्गाको स्वामित्व विद्यालयकै नाममा देखिए पनि लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि नबढ्नु दुःखद भएको बताए। उनले जग्गा स्वामित्वसम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्ने बताए।
२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले भौतिक संरचना निर्माणका लागि प्राप्त हुने ६ करोड रुपैयाँ बजेट कार्यान्वयन गर्न लालपुर्जासम्बन्धी प्रक्रिया तत्काल टुंग्याउन माग गरेको छ।

