एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३०:
मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या, अस्पतालको लापरवाही तथा सेवाग्राहीले भोग्दै आएका समस्याको समाधान माग गर्दै मधेस युवा सञ्जालले १३ बुँदे ज्ञापनपत्र बुझाएको छ।
सञ्जालका युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका सचिवसमक्ष ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक पहल गर्न सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
ज्ञापनपत्रमा धनुषाको प्रादेशिक अस्पतालमा अस्पतालको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको भनिएको घटना, सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिरै सुत्केरी हुनुपरेको भनिएको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु भएको भनिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
त्यस्तै, प्रदेशभरका अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या तथा उपचारको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य संस्थाको नियमित अनुगमन, अनुमति बिना सञ्चालित स्वास्थ्य संस्थामाथि कारबाही तथा चिकित्सकीय लापरवाही नियन्त्रण गर्न सञ्जालले माग गरेको छ। उपचारका नाममा हुने आर्थिक ठगी र अनावश्यक शुल्क नियन्त्रण गर्नसमेत माग गरिएको छ।
सञ्जालले अस्पतालको सरसफाइ तथा मेडिकल फोहोर व्यवस्थापन प्रभावकारी बनाउन, प्रसूति तथा आकस्मिक सेवा व्यवस्थित गर्न तथा आवश्यक चिकित्सक र उपकरणको उपलब्धता सुनिश्चित गर्न माग गरेको छ। प्रत्येक अस्पतालमा प्रभावकारी गुनासो सुनुवाइ प्रणाली स्थापना गरी बिरामीको अधिकार, उपचारसम्बन्धी शुल्क तथा उपलब्ध सेवाको विवरण सार्वजनिक गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै मन्त्रालयका सचिवले उठाइएका विषयलाई गम्भीरतापूर्वक लिँदै माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको सञ्जालका प्रतिनिधि श्याम साहले बताए।
मधेस युवा सञ्जालले आफ्ना माग सम्बोधनका लागि सरकारलाई १५ दिनको समयसीमा दिएको छ। तोकिएको समयभित्र माग सम्बोधन नभए शान्तिपूर्ण जनदबाब, धर्ना, प्रदर्शनलगायतका वैधानिक कार्यक्रम सञ्चालन गर्ने चेतावनी सञ्जालले दिएको छ।

