एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७:
जनकपुरधाम उपमहानगरपालिका ७ जनकीनगरस्थित रामजानकी माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चारकोठे र दुईकोठे भवनको उद्घाटन गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यालयमा देखिँदै आएको कक्षाकोठाको अभाव केही हदसम्म समाधान हुने विद्यालयले जनाएको छ। थप कक्षाकोठा उपलब्ध भएपछि विद्यार्थीलाई सहज, व्यवस्थित र अनुकूल वातावरणमा पठनपाठन गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख साहले विद्यालयको भौतिक संरचना विस्तारसँगै शैक्षिक गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। निर्माण भएका संरचनाको संरक्षण तथा प्रभावकारी उपयोगमा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
वडाध्यक्ष साहले विद्यालयलाई वडाको प्राथमिकतामा राख्दै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय समुदायको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालयको पूर्वाधार विस्तारबाट यस क्षेत्रका विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने उनले बताए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे, विद्यालयका प्रधानाध्यापक कालीचरण चौधरी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता थियो।
नवनिर्मित भवनसँगै विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित हुनुका साथै पठनपाठनमा सहजता आउने अपेक्षा गरिएको छ।





