एसपी रिपोर्टर
जनकपुरधाम, साउन २०:
धनुषाको मिथिला नगरपालिका ९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र विगत केही वर्षदेखि पूर्ण रूपमा निष्क्रिय बनेको छ। चार दशकअघि परोपकार, विपद् व्यवस्थापन र सामुदायिक सेवाको उद्देश्यले स्थापना गरिएको केन्द्रका भवन बन्द छन् भने एम्बुलेन्सदेखि रक्त संकलन बससम्म प्रयोगविहीन अवस्थामा थन्किएका छन्। सेवा प्रवाह ठप्प हुँदा स्थानीयवासी मात्रै होइन, रेडक्रस धनुषाले पाउँदै आएको आम्दानीसमेत प्रभावित भएको छ।
एक समय विपद्का बेला राहत वितरण, एम्बुलेन्स सेवा, विभिन्न तालिम, अतिथि गृह सञ्चालन तथा नर्सरी व्यवस्थापनका कारण चहलपहल रहने केन्द्र अहिले सुनसान बनेको छ। परिसरमा रहेका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको बस लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन्।
स्थानीयका अनुसार केन्द्र स्थापना भएको दशकौं बितिसक्दा पनि समुदायले अपेक्षित सेवा पाउन सकेको छैन। मिथिला नगरपालिका ९ का धिरजकुमार महतोले विपद्का बेला राहत सामग्री समयमै नपाएको तथा एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन नभएको बताए। उनका अनुसार नर्सरीबाहेक रेडक्रसको अन्य सेवा स्थानीयले अनुभव गर्न सकेका छैनन्।

स्थानीयले राहत वितरणका लागि ल्याइएका चामल, दाललगायत सामग्री गोदाममै थन्किएको र समयमै वितरण नगरिएको आरोपसमेत लगाएका छन्।
लालगढ उपशाखाकी पूर्व उपसभापति गोमा लामाका अनुसार पहिले केन्द्रबाट नियमित गतिविधि सञ्चालन हुने गरे पनि पछिल्ला केही वर्षदेखि सबै सेवा बन्द छ। सेवा किन रोकियो भन्नेबारे स्थानीयसमेत अनभिज्ञ रहेको उनले बताइन्।
केन्द्रको रेखदेखका लागि डेढ वर्षदेखि कार्यरत जीवनदेवी कोइरालाले आफू आएयता केन्द्रमा कुनै कार्यक्रम वा सेवा सञ्चालन भएको नदेखेको जानकारी दिइन्।
स्थानीयका अनुसार संस्था केही व्यक्तिको प्रभावमा सीमित हुँदा समुदायका लागि स्थापना गरिएको केन्द्र आफ्नो मूल उद्देश्यबाट विमुख भएको छ। मानव सेवा र विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने संस्था समुदायबाट टाढिँदै गएको उनीहरूको गुनासो छ।

यता, केन्द्रको निष्क्रियता र कार्यसम्पादनप्रति प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीले धनुषा जिल्ला कार्यसमिति भंग गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ।
तदर्थ समितिका सभापति पंकज महतोले बडहरीस्थित केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। विगतमा संस्था सीमित व्यक्तिको प्रभावमा सञ्चालन भएको उल्लेख गर्दै उनले अब रेडक्रसलाई पारदर्शी, उत्तरदायी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
एक समय जिल्लाको सामुदायिक सेवाको केन्द्र मानिएको बडहरी रेडक्रस परिसर अहिले बन्द भवन र प्रयोगविहीन सवारीसाधनमा सीमित भएको छ। स्थानीयले स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका कार्यक्रम पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।