एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ :
नेपाल चिकित्सक संघ, जनकपुर शाखाले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा त्यसपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका चिकित्सकमाथि भएको दमनको कडा भर्त्सना गरेको छ।
शाखाले प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघको केन्द्रीय समितिले साउन ११ गते जारी गरेको विज्ञप्तिप्रति पूर्ण ऐक्यबद्धता तथा समर्थन जनाएको हो। विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथिको हिंसा र अपमानले सम्पूर्ण चिकित्सक समुदायको आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उल्लेख गर्दै यस्ता घटना दुःखद, निन्दनीय र अस्वीकार्य भएको जनाइएको छ।
केन्द्रीय समितिको निर्णयअनुसार साउन १२ गते देशभर आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलनलाई जनकपुर शाखाले पूर्ण समर्थन जनाएको छ। शाखाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका सबै अस्पताल, स्वास्थ्य संस्था, पोलिक्लिनिक तथा क्लिनिक बन्द गरी आन्दोलनमा सक्रिय, अनुशासित र एकताबद्ध रूपमा सहभागी हुन सम्पूर्ण चिकित्सकलाई आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान, कानुनी संरक्षण र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नका लागि भएको स्पष्ट पारिएको छ। चिकित्सकमाथि हुने आक्रमणविरुद्ध सबै एकजुट हुन नसके भविष्यमा कुनै पनि स्वास्थ्य संस्था सुरक्षित नरहने चेतावनी दिँदै शाखाले स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, नागरिक समाज तथा आमजनसमुदायलाई आन्दोलनप्रति नैतिक समर्थन र ऐक्यबद्धता जनाउन अपिल गरेको छ।
नेपाल चिकित्सक संघ, जनकपुर शाखाका अध्यक्ष डा. राम ज्ञान यादव र महासचिव डा. विजयकुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त धारणा सार्वजनिक गरिएको हो।





