एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११:
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गुणस्तरीय शिक्षासँगै विद्यालय तहमा खेलकुद गतिविधिको विस्तार सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
जनकपुरधामस्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयमा विद्यार्थीलाई खेल सामग्री वितरण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अध्ययन र खेलकुदलाई समान महत्व दिनुपर्ने बताए । खेल सामग्री तथा आवश्यक पूर्वाधार विस्तारमा सरकारले विशेष ध्यान दिएको उनको भनाइ थियो ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सरकार बहुआयामिक रूपमा काम गरिरहेको उल्लेख गर्दै हालै राजर्षी जनक विश्वविद्यालयका उपकुलपतिसँग शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र भौतिक पूर्वाधार विकासका विषयमा छलफल भएको जानकारी दिए । विश्वविद्यालयको आफ्नै भवन निर्माण, घेराबार तथा जग्गा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको र देखिएका समस्या क्रमशः समाधान हुँदै गएको उनले बताए ।
विश्वविद्यालयलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकार आवश्यक सबै पक्षसँग समन्वय गर्दै अघि बढिरहेको उनले स्पष्ट पारे ।
मन्त्री पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै आवश्यक प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको र कार्यान्वयन प्रक्रिया अघि बढिरहेको बताए । शिक्षा क्षेत्रमा अझै चुनौती रहे पनि संरचनागत सुधार, गुणस्तरीय शिक्षण–सिकाइ, शिक्षक क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ थियो ।
सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधानमा ढिलाइ नगर्ने नीति लिएको उल्लेख गर्दै उनले कुनै पनि विषय सार्वजनिक भएलगत्तै सम्बन्धित निकायलाई सक्रिय बनाइने बताए । पछिल्लो समय सार्वजनिक भएको प्रश्नपत्र बाहिरिएको घटनामा २४ घण्टाभित्रै मुख्य आरोपी पक्राउ परिसकेको र थप अनुसन्धान जारी रहेको जानकारी पनि उनले दिए ।
यसअघि आयोजित कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयका विद्यार्थीलाई भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेल सामग्री हस्तान्तरण गरेका थिए । खेलकुदले अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीको विकास गर्ने भएकाले विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
देशभरका सामुदायिक विद्यालयमा खेलकुद गतिविधि विस्तार, आवश्यक सामग्री उपलब्ध गराउने, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गर्ने तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको मन्त्री पोखरेलले बताए।