एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११:
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखाको कार्यसमिति विघटन गर्दै पंकजकुमार महतोको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
साउन ४ गते बसेको केन्द्रीय तदर्थ समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (अठारौं संशोधनसहित) बमोजिम नरेशकुमार सिंह नेतृत्वको जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यालयले जिल्ला शाखालाई पठाएको पत्रअनुसार नवगठित तदर्थ समितिको सभापतिमा जनकपुरधाम उपमहानगरपालिका–१० निवासी पंकजकुमार महतो नियुक्त भएका छन्। समितिको मन्त्रीमा इन्जिनियर बिमल पुर्वे, कोषाध्यक्षमा सतिशकुमार सिंह तथा सदस्यहरूमा डा. सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार भा, शान्ती विष्ट, नागिनादेवी मिश्र र रामकलादेवी सदा रहेका छन्।
केन्द्रीय तदर्थ समितिले नवगठित समितिलाई जिल्ला शाखाको वित्तीय अवस्था, बैंक खाता, सम्पत्ति तथा दायित्वको परीक्षण गरी ३० दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
यसका साथै सदस्यता अद्यावधिक, संस्थागत सुदृढीकरण, सांगठनिक कार्ययोजना तयार गर्ने तथा विधानअनुसार निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने दायित्व पनि तदर्थ समितिलाई दिइएको छ।
केन्द्रीय समितिले तय गरेको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सबै जिम्मेवारी समयमै सम्पन्न गर्न र नियमित रूपमा प्रगति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन समेत नयाँ समितिलाई निर्देशन दिएको छ।





