एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५:
जनकपुरधाम उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुई नगरप्रमुखबीच छलफल भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह शिक्षकहरूको टोलीसहित नेपालगञ्ज पुगेर नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टसँग भेटवार्ता गरेका हुन्।
छलफलका क्रममा नगरप्रमुख साहले जनकपुरधाम पछिल्लो समय विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बताए। उनले जनकपुरधामको शैक्षिक अवस्था, सामुदायिक तथा संस्थागत विद्यालयहरूको वर्तमान स्थिति, साथै उपमहानगरपालिकाले आन्तरिक स्रोत वृद्धि गर्न गरेका प्रयास र अनुभवबारे जानकारी गराए।


नगरप्रमुख विष्टले जनकपुरधाम विगतदेखि नै नेपालको शिक्षा क्षेत्रको प्रमुख केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै एक समय देशका विभिन्न जिल्लामा शिक्षकको अभाव हुँदा मधेस, विशेषगरी जनकपुरधामका शिक्षकहरूले अध्यापनमार्फत महत्वपूर्ण योगदान दिएको स्मरण गरे।
उनले धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले नेपालगञ्ज र जनकपुरधामबीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, माता सीताको नगरी जनकपुरधामसँग धार्मिक सम्बन्ध अझ सुदृढ बनाउन नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको प्रतिमा निर्माण गर्ने योजना रहेको जानकारी दिए।

छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे, गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक महावीर दास तथा दुवै उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र जनकपुरधामका शिक्षकहरूको सहभागिता रहेको थियो।