एसपी रिपोर्टर
जनकपुरधाम, साउन १:
जनकपुरधाम उपमहानगरपालिका १६ स्थित श्री आधारभूत विद्यालय कपिलेश्वरमा कक्षा २ देखि ६ सम्म अध्ययनरत छात्रा तथा दलित समुदायका ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नं. १६ का अध्यक्ष रामचन्द्र पंजियारले छात्रवृत्ति वितरण गर्दै आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक गौरीशंकर लाल कर्णले राज्यबाट उपलब्ध छात्रवृत्ति लक्षित वर्गका विद्यार्थीलाई पारदर्शी रूपमा वितरण गरिएको जानकारी दिए। उनले यस कार्यक्रमले विद्यार्थीको नियमित अध्ययन, विद्यालयप्रतिको आकर्षण तथा सिकाइ उपलब्धि सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। विद्यालयले यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीको विद्यालयमा टिकाइदर बढाउन समेत सकारात्मक योगदान पुग्ने जनाएको छ।