एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय इतिहास, भाषा, कला र संस्कृतिमा आधारित स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गर्ने तयारी पूरा गरेको छ।
एक कार्यक्रमबीच पाठ्यक्रमका लेखक डा. हेमप्रसाद साहले पाठ्यक्रम नगरप्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
पाठ्यक्रम हस्तान्तरणपछि नगरप्रमुख साहले कक्षा १ देखि ८ सम्मका सबै सामुदायिक तथा निजी विद्यालयमा मैथिली भाषामार्फत अनिवार्य विषयका रूपमा स्थानीय पाठ्यक्रम अध्यापन गराइने जानकारी दिए। उनले यसले विद्यार्थीलाई आफ्नै समाज, भाषा, संस्कृति, परम्परा, धार्मिक तथा ऐतिहासिक सम्पदाबारे व्यवहारिक र तथ्यपरक ज्ञान दिलाउने तथा आफ्नो पहिचान र संस्कृतिप्रति अपनत्व र जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने बताए।
पाठ्यक्रममा जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय कला, साहित्य, भाषा, चाडपर्व, सामाजिक मूल्य मान्यता, प्राकृतिक सम्पदा र स्थानीय जीवनशैलीसम्बन्धी विषय समेटिएका छन्। यसबाट स्थानीय ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय पाठ्यक्रम मस्यौदा तथा लेखन समितिको संयोजक अञ्जु पाण्डे रहेकी थिइन्। समितिमा श्यामसुन्दर शशि, सुनिल मल्लिक र विनिता ठाकुरले विज्ञका रूपमा योगदान दिएका थिए।
उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को व्यवस्थाअनुसार स्थानीय आवश्यकता र पहिचानलाई केन्द्रमा राखेर पाठ्यक्रम तयार गरिएको जनाएको छ। यस पहलले जनकपुरधामको मौलिक इतिहास, भाषा र संस्कृतिलाई विद्यालय शिक्षासँग जोड्दै भावी पुस्तामा संरक्षण र हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





